काठमाडौं । आतंकवादबाट पीडित तथा प्रभावित व्यक्तिको सम्झना, सम्मान र अधिकार संरक्षणका लागि आज विश्वभर ‘आतंकवादका पीडितको सम्झना र सम्मानको अन्तर्राष्ट्रिय दिवस’ मनाइँदैछ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१७ मा आतंकवादका पीडित तथा बाँचेकाहरूलाई सम्मान र सहयोग गर्दै उनीहरूको मानव अधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगस्ट २१ मा यो दिवस मनाउने निर्णय गरेको थियो।

संयुक्त राष्ट्रसंघले आतंकवादका पीडितलाई न्याय, सहायता र आवश्यक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्नेमा जोड दिँदै आएको छ।

ADVERTISEMENT

महासभाको सन् २०२३ मा पारित आठौँ समीक्षासम्बन्धी प्रस्तावले विशेषगरी महिला, बालबालिका तथा आतंकवादी हिंसाबाट हुने यौन र लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिका अधिकार तथा आवश्यकतालाई प्राथमिकता दिन सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ।

ADVERTISEMENT

प्रस्तावले आतंकवादका पीडित तथा उनीहरूका परिवारका तत्कालीन, अल्पकालीन र दीर्घकालीन आवश्यकता सम्बोधन गर्न राष्ट्रियस्तरमा समग्र सहायता योजना निर्माण गर्नसमेत प्रोत्साहन गरेको छ।

ADVERTISEMENT

संयुक्त राष्ट्रसंघले सन् २०२२ सेप्टेम्बरमा पहिलो विश्वव्यापी आतंकवाद पीडित सम्मेलन आयोजना गरेको थियो। साथै, संयुक्त राष्ट्रसंघीय आतंकवादप्रतिरोध कार्यालयले पीडित सहायता कार्यक्रम तथा ‘युनाइटेड नेसन्स भिक्टिम्स अफ टेरोरिजम सपोर्ट पोर्टल’मार्फत पीडितका अधिकार र आवश्यकताबारे चेतना अभिवृद्धि गर्दै आएको छ।

संयुक्त राष्ट्रसंघले आतंकवादविरुद्धको विश्वव्यापी प्रयासमा पीडितको आवाज, अधिकार र आवश्यकतालाई केन्द्रमा राख्दै अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय तहमा सहकार्य र सहायता प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।