चितवन । देशभरका संघीय सरकारी अस्पतालमध्ये सेवा प्रवाहका हिसाबले उत्कृष्ट मानिएको भरतपुर अस्पतालअघिको सडक भने लामो समयदेखि दुरवस्थामा छ । खाल्डाखुल्डी, उबडखाबड र धुलोका कारण अस्पताल आउने बिरामी, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीयले दैनिक सास्ती भोग्नुपरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल ८९ अङ्कसहित देशका १४ संघीय अस्पतालमध्ये पहिलो बनेको थियो । दैनिक करिब ३ हजारसम्म बिरामी पुग्ने अस्पतालको मुख्य प्रवेशमार्ग भने अझै व्यवस्थित हुन सकेको छैन ।

खैरहनी नगरपालिका–५ बाट बिरामी लिएर अस्पताल आएकी गीता चौधरीले सडकको अवस्थाका कारण एम्बुलेन्स तथा अन्य सवारीमा बिरामी ल्याउँदा निकै समस्या हुने बताइन् । विशेषगरी अपरेसन गरेका बिरामीलाई सडकको उबडखाबडले थप कष्ट हुने उनको भनाइ छ ।

ADVERTISEMENT

अटो चालक मनबहादुर बस्नेतका अनुसार सडक निकै खराब हुँदा बिरामीहरू सवारीभित्रै दुखाइका कारण कराउने गर्छन् । सडकमा सवारी नियन्त्रण गर्न चालकलाई समेत कठिन हुने उनले बताए ।

ADVERTISEMENT

त्यस्तै, लोकसेवा तयारी गरिरहेका धीरजकुमार पटेलले सडक समतल नहुँदा साइकल चलाउँदा शरीर नै थर्किने र साइकलको टायर तथा रिङमा समेत क्षति पुग्ने गुनासो गरे ।

ADVERTISEMENT

लामो समयदेखि सडक भत्काएर छाडिएको भन्दै स्थानीयले निर्माण कम्पनीको कामप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूका अनुसार सडकमा कहिलेकाहीँ मात्र कामदार देखिन्छन् र निर्माणले अपेक्षित गति लिन सकेको छैन ।

भरतपुर महानगरपालिकाका सिभिल इन्जिनियर रबिन धितालले भने केही प्राविधिक जटिलताका कारण निर्माणमा ढिलाइ भएको बताए । जमिनमुनि नाली निर्माण गर्नुपर्ने भएकाले काम जटिल भएको र निर्माण सामग्रीको मूल्यवृद्धिले पनि केही समय काम प्रभावित भएको उनको भनाइ छ ।

उनका अनुसार नाली निर्माणको ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । अब फुटपाथ निर्माणलाई तीव्रता दिइनेछ ।

करिब २ करोड रुपैयाँ लागतमा सप्तगण्डकी कँडेल कनस्ट्रक्सन कम्पनीले सडक निर्माणको जिम्मा पाएको छ । आगामी दुई महिनाभित्र फुटपाथको काम सम्पन्न गर्ने र असोजसम्म सडक कालोपत्रे गरिसक्ने लक्ष्य रहेको इन्जिनियर धितालले जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय, भरतपुर अस्पताल, विद्यालय तथा विभिन्न सरकारी कार्यालय जाने मुख्य सडकको दुरवस्थाले दैनिक हजारौँ मानिस प्रभावित भएका छन् ।

अस्पतालको प्रवेशद्वारमै रहेको सडकमा खाल्डाखुल्डी र उबडखाबडका साथै धुलोको समस्या पनि उत्तिकै छ । सामान्य वर्षामै ढल निकासको अभावमा सडकमा पानी जम्ने हुँदा पैदलयात्री र सवारीसाधनलाई थप समस्या हुने गरेको छ ।

देशकै उत्कृष्ट संघीय अस्पतालको सेवा प्रवाहसँगै अस्पताल पुग्ने पूर्वाधार पनि व्यवस्थित र सहज हुनुपर्ने स्थानीय तथा सेवाग्राहीको माग छ ।