कवानपुर । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन्। एमाले, नेकपा र राप्रपाका सांसदको समर्थनमा थापा बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी गरेका थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

थापाले ६३ सांसदको समर्थनसहित सरकार गठनका लागि दाबी गरेका थिए। उनलाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको बताइएको छ।

ADVERTISEMENT

यद्यपि थापालाई मुख्यमन्त्री बनाउने विषयमा राप्रपाभित्रै विवाद देखिएको थियो। आन्तरिक विवादकै बीच प्रदेश प्रमुख देवकोटाले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

ADVERTISEMENT

यसअघि बागमतीका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत नपाउने अवस्था बनेपछि पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि भदौ ४ गते दिउँसो ४ बजेसम्मको समय दिएका थिए।

ADVERTISEMENT

थापा बागमती प्रदेशसभाको दोस्रो कार्यकालका चौथो मुख्यमन्त्री बनेका छन्। यसअघि नेकपाका शालिकराम जम्कट्टेल, कांग्रेसका बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको नेतृत्व गरेका थिए।