काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग लिखित जवाफ माग गरेको छ।

प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले दुवै पूर्वप्रधानमन्त्रीका नाममा आदेश जारी गर्दै उनीहरूमाथि मुद्दा चलाउन नपर्ने भए त्यसको कारणसहित लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

ADVERTISEMENT

सर्वोच्चले नेपाल र भट्टराईसँगै महान्यायाधिवक्ताको कार्यालय तथा विशेष अदालतका नाममा समेत लिखित जवाफ माग गरेको छ।

ADVERTISEMENT

मन्त्रिपरिषद्का निर्णयको आडमा उन्मुक्ति दिँदै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाइएको दाबी गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्चमा निवेदन दिएका थिए।

निवेदनमा दुवै पूर्वप्रधानमन्त्रीमाथि समेत अनुसन्धान गरी मुद्दा चलाउन आदेश माग गरिएको थियो। उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले पूर्वप्रधानमन्त्रीद्वयको जवाफ नलिई मुद्दा टुंग्याउन उचित नहुने ठहर गरेको हो।

ADVERTISEMENT

अब नेपाल र भट्टराईले उनीहरूमाथि मुद्दा चलाउन नपर्ने आधारबारे अदालतसमक्ष लिखित जवाफ पेस गर्नुपर्नेछ। यस आदेशसँगै ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयको भूमिकामाथिको कानुनी बहस पुनः अघि बढ्ने भएको छ।