काठमाडौं । नेपाली कांग्रेसले युवालाई सक्षम, क्षमतावान र आत्मनिर्भर बनाउने उद्देश्यले ‘बीउ’ अभियान घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कांग्रेस सभापति गगन थापाले केन्द्रीय समिति बैठकबाट अभियानको घोषणा गरेका हुन्। Build, Incubate and Uplift (BIU) शब्दको संयोजनबाट ‘बीउ’ अभियान नामकरण गरिएको कांग्रेसले जनाएको छ।
अभियानमार्फत युवालाई सीपसँग, सीपलाई अवसरसँग, अवसरलाई उद्यमसँग र उद्यमलाई आत्मनिर्भरतासँग जोड्ने लक्ष्य राखिएको छ। देशभरका युवालाई ‘बीउबाट बिरुवा र बिरुवाबाट रूख’ जस्तै दिगो उद्यमी बनाउने उद्देश्य अभियानले लिएको कांग्रेसको भनाइ छ।
कांग्रेसका अनुसार हरेक युवाभित्र सम्भावनाको एउटा बीउ हुन्छ। कसैमा उद्यमी बन्ने क्षमता, कसैमा प्रविधिको ज्ञान, कसैमा सिर्जनशीलता तथा कसैमा नेतृत्व गर्ने क्षमता रहेको भन्दै ती सम्भावनालाई सही अवसरसँग जोड्ने अभियानको उद्देश्य रहेको छ।
अभियानको सुरुवात ललितपुर जिल्लाबाट गरिनेछ। त्यसपछि हिमाल, पहाड र तराई–मधेसका एक–एक जिल्लामा अभियान विस्तार गरिने कांग्रेसले जनाएको छ। ती जिल्लालाई ‘बिरुवा’का रूपमा विकास गर्दै क्रमशः देशभर ‘रूख’ जस्तो दिगो अभियान बनाउने लक्ष्य राखिएको छ।
कुनै पनि युवाले ‘मसँग सपना त छ, तर अवसर छैन’ भन्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले अभियान सुरु गरिएको कांग्रेसले जनाएको छ।
कांग्रेसले युवाको सपना सुन्ने, उनीहरूको सम्भावना पहिचान गर्ने र आवश्यक अवसरसँग जोड्ने जनाएको छ। साथै युवालाई आफ्नै भविष्य निर्माण गर्न सक्षम बनाउँदै उद्यमशीलता र आत्मनिर्भरतातर्फ अघि बढाउने लक्ष्य अभियानले लिएको छ।





