काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सांसदहरूको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन स्वकीय सचिव (पीए) नियुक्तिसम्बन्धी नयाँ कार्यविधि लागू गरेको छ।
सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले ‘प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि, २०८३’ पारित गर्दै लागू गरेको हो।
कार्यविधिअनुसार अब कांग्रेस सांसदका स्वकीय सचिव बन्न न्यूनतम स्नातक उत्तीर्ण हुनुपर्नेछ। कानुन, राजनीति शास्त्र, अर्थशास्त्र, सार्वजनिक प्रशासन, पत्रकारिता, सूचना प्रविधि, कृषि, इन्जिनियरिङ, स्वास्थ्य र व्यवस्थापन विषय अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। साथै उम्मेदवारको उमेर कम्तीमा २१ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ।
नयाँ मापदण्डअनुसार स्वकीय सचिवले प्रशासनिक सहयोगीको भूमिकामा मात्र सीमित नभई सांसदका प्रमुख सहकर्मीका रूपमा काम गर्नेछन्। उनीहरूमा संसदीय प्रक्रियाको ज्ञान, प्रतिवेदन तयार गर्ने क्षमता, कम्प्युटर तथा डिजिटल उपकरण सञ्चालन, सामाजिक सञ्जाल व्यवस्थापन र तथ्य जाँच (फ्याक्ट–चेकिङ) सम्बन्धी सीप अनिवार्य हुने उल्लेख गरिएको छ।
छनोट प्रक्रियालाई पारदर्शी बनाउन सम्बन्धित सांसदको सिफारिससहित बायोडाटा, नागरिकता, शैक्षिक प्रमाणपत्र तथा कम्तीमा ५०० शब्दको ‘प्रतिबद्धता पत्र’ पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। सोही आधारमा संसदीय दलले अन्तिम छनोट गर्नेछ।
स्वकीय सचिवले सांसदका लागि विधेयक विश्लेषण, संसदीय प्रश्न तथा बहसको मस्यौदा तयार गर्ने, नीति अध्ययन, जनगुनासो व्यवस्थापन, विकास योजनाको अनुगमन, स्थानीय सरकारसँग समन्वय, प्रेस नोट, वेबसाइट तथा सामाजिक सञ्जाल सञ्चालनलगायतका जिम्मेवारी निर्वाह गर्नेछन्।
कार्यविधिमा स्वकीय सचिवले उच्च नैतिकता, गोपनीयता र संसदीय मर्यादा कायम राख्नुपर्ने तथा कार्यसम्पादनका आधारमा नियमित मूल्याङ्कन गरिने व्यवस्था पनि गरिएको छ। कांग्रेस संसदीय दलले यो कार्यविधिले सांसदको विधायिकी भूमिका र जनप्रतिनिधित्वलाई अझ प्रभावकारी र उत्तरदायी बनाउने विश्वास व्यक्त गरेको छ।




