जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। यस्तै, मधेस र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ भने गण्डकी र बागमतीका पहाडी क्षेत्रमा धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मङ्गलबार पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी, खोलामा पानीको बहाव बढ्न सक्ने, बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।




