काठमाडौं । मधेस प्रदेश सरकारले प्रदेशमा शान्ति, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षा कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको पछिल्लो शान्ति–सुरक्षा अवस्थाको समीक्षा गर्दै नागरिक, राजनीतिक दल तथा सरोकारवाला सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेको हो।
मुख्यमन्त्री यादवद्वारा जारी विज्ञप्तिमा पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा देखिएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासम्बन्धी घटनाक्रमप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
नागरिकको जिउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर आवश्यक कदम चाल्ने निर्णय पनि बैठकले गरेको जनाएको छ।
प्रदेश सरकारले सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी सम्भावित सुरक्षा चुनौतीको समयमै पहिचान, रोकथाम र प्रभावकारी व्यवस्थापन गर्न प्रतिबद्ध रहेको जनाएको छ।
विज्ञप्तिमार्फत राजनीतिक दल, संघसंस्था, धार्मिक गुरु, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र तथा सम्पूर्ण नागरिकलाई शान्ति, सामाजिक सद्भाव, धार्मिक तथा सांस्कृतिक सहिष्णुता कायम राख्न आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरिएको छ।
त्यस्तै, सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत अफवाह, भ्रम, हिंसा वा सार्वजनिक अशान्ति फैलाउन सक्ने सामग्रीको प्रसारण नगर्न तथा आधिकारिक निकायबाट जारी हुने सूचनामात्र विश्वास गर्न प्रदेश सरकारले अनुरोध गरेको छ।
प्रदेश सरकारले पछिल्ला घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै शान्ति–सुरक्षा, सुशासन, कानुनी शासन तथा नागरिकका संवैधानिक र कानुनी अधिकारको संरक्षणप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।





