काठमाडौं । भारतका पूर्वकप्तान तथा अनुभवी ब्याटर अजिंक्य रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई विश्राम दिने निर्णय सार्वजनिक गरेका हुन्।
रहाणेले भारतका लागि ८५ टेस्ट, ९० एकदिवसीय र २० ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले सन् २०१३ मा अस्ट्रेलियाविरुद्ध टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए भने सन् २०२३ मा वेस्ट इन्डिजविरुद्ध अन्तिम टेस्ट खेलेका थिए।
टेस्ट क्रिकेटमा रहाणेले १२ शतक र २६ अर्धशतकसहित ५ हजार ७७ रन बनाएका छन्। एकदिवसीय क्रिकेटमा उनले सन् २०११ मा इंग्ल्यान्डविरुद्ध डेब्यु गरेका थिए भने सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्ध अन्तिम खेल खेले। यस क्रममा उनले तीन शतक, २४ अर्धशतकसहित २ हजार ९६२ रन बनाएका छन्।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनले सन् २०११ मा इंग्ल्यान्डविरुद्ध डेब्यु गरेका थिए भने सन् २०१६ मा वेस्ट इन्डिजविरुद्ध अन्तिम खेल खेलेका थिए। यस प्रारूपमा उनले २० खेलमा ३७५ रन बनाएका छन्, जसमा एक अर्धशतक समावेश छ।
रहाणेको कप्तानीमा भारतले सन् २०२०–२१ को बोर्डर–गाभास्कर ट्रफीमा ऐतिहासिक सफलता हासिल गरेको थियो। पहिलो टेस्टपछि नियमित कप्तान विराट कोहली स्वदेश फर्किएपछि रहाणेले टोलीको नेतृत्व सम्हालेका थिए। पहिलो खेल गुमाए पनि भारतले उत्कृष्ट पुनरागमन गर्दै शृंखला २–१ ले जितेको थियो। उनले भारतका लागि ६ टेस्टमा कप्तानी गर्दै चार खेल जिताएका थिए।
रहाणेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबाट पनि खेलेका छन्। साथै उनले काउन्टी क्रिकेटमा समेत आफ्नो अनुभव बटुलेका छन्।











