हङकङ । अमेरिका–इरान सैन्य तनावमा विरामसँगै युद्धविराम र रणनीतिक स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनबारे वार्ता अघि बढ्ने आशा पलाएको छ । यससँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आएको छ ।

इरानमा १३ दिनसम्म आक्रमण गरेपछि अमेरिकाले सप्ताहन्तमा सैन्य कारबाही रोकेको थियो । अमेरिकी राष्ट्रपतिका विशेष दूतले राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि केही समय र अवसर दिएको बताएका छन्

ADVERTISEMENT

इरानले पनि क्षेत्रीय मुलुकमाथि गरिरहेका प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ । घटनाक्रमले खाडी क्षेत्रमा पानीजहाजको आवतजावत तथा तेल उद्योगलाई केही राहत दिएको छ ।

इरानले स्ट्रेट अफ हर्मुजको ओमानी जलक्षेत्र हुँदै जाने पानीजहाजमाथि आक्रमण गरेपछि तनाव थप चर्किएको थियो । त्यसपछि कमजोर युद्धविराम भंग हुँदै यसै महिना अमेरिका र इरानबीच पुनः सैन्य गतिविधि सुरु भएको थियो ।

ADVERTISEMENT

तनावका कारण वासिङ्टन र तेहरानबीचको कूटनीतिक प्रयास प्रभावित भएको थियो । द्वन्द्व स्ट्रेट अफ हर्मुजभन्दा बाहिरसमेत फैलिँदा इरानसमर्थित हुथी विद्रोहीले लालसागर प्रवेश गर्ने प्रमुख मार्ग बाब अल–मन्देब जलक्षेत्रमा साउदी पानीजहाजमाथि आक्रमण गरेका थिए ।

तनाव चर्किएसँगै कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको थियो । गत साता ब्रेन्ट कच्चा तेलको मूल्य मे यताकै पहिलोपटक प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको थियो । यद्यपि, लालसागरमा पानीजहाजको आवतजावत जारी रहेको समाचारले शुक्रबार लगानीकर्ताको चिन्ता केही कम गरेको थियो ।

अमेरिकाले थप आक्रमण नगर्ने निर्णय गरेपछि तथा स्ट्रेट अफ हर्मुजको व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति भएको इरानले आइतबार बताएपछि तेल बजारमा थप राहत देखिएको हो ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीका अनुसार वार्ता दुवै देशको सार्वभौम अधिकारको सम्मान गर्दै स्ट्रेट अफ हर्मुजबाट पानीजहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्ने साझा सिद्धान्त र सञ्चालन संयन्त्र निर्माणमा केन्द्रित थियो ।

सोमबार दुवै प्रमुख तेल सम्झौताको मूल्य घटेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य एक समय सात प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ९० अमेरिकी डलरभन्दा तल झरेको थियो ।
तेलको मूल्य घटेसँगै मुद्रास्फीति पुनः बढ्ने तथा ब्याजदरमा थप वृद्धि हुने चिन्ता केही कम भएको छ । यसले अधिकांश एसियाली सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ ।