नयाँ दिल्ली — भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि आन्दोलनरत कक्रोच जनता पार्टी (सीजेपी) ले ३७ दिनदेखि जन्तर मन्तरमा जारी आन्दोलन शनिबार फिर्ता लिएको छ। सरकारबाट आफ्ना प्रमुख मागहरू सम्बोधन गर्ने आश्वासन पाएपछि आन्दोलन स्थगित गरिएको सीजेपीले जनाएको छ।
संविधान क्लबमा आयोजित पत्रकार सम्मेलनमा सीजेपीका मुख्य प्रवक्ता सौरव दासले सरकारसँग भएको सहमतिअनुसार आन्दोलन सद्भावनाका आधारमा फिर्ता लिइएको बताए। उनका अनुसार केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग भएको तेस्रो चरणको वार्तामा आन्दोलनका प्रमुख मागहरूमा सहमति भएको हो।
सीजेपीले आत्महत्या गरेका नीट परीक्षाका परीक्षार्थीका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने, आन्दोलनका क्रममा देशभर दर्ता भएका एफआईआर फिर्ता लिने तथा भविष्यमा कानुनी कारबाही नगर्ने सरकारको प्रतिबद्धता प्राप्त भएको जनाएको छ। साथै, शिक्षा र परीक्षा प्रणाली सुधारसम्बन्धी पाँचबुँदे मागपत्रमाथि चार सातापछि पुनः वार्ता गर्ने सहमति भएको छ।
यसअघि शिक्षामन्त्री धर्मेन्द्र प्रधानले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राजीनामा बुझाउँदै विद्यार्थी र युवाको हितलाई ध्यानमा राखेर पद त्यागेको बताएका थिए।
नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणपछि सुरु भएको आन्दोलनमा नागरिक अभियन्ता सोनम वाङचुकसहित विद्यार्थी र युवाहरूले शिक्षामन्त्रीको राजीनामाको माग गर्दै राजधानी नयाँ दिल्लीको जन्तर मन्तरमा निरन्तर प्रदर्शन गरेका थिए।











