पोखरा । स्थानीयको पटकपटकको दबाबपछि अन्ततः पोखराको हरिचोक-याम्दी सडकखण्ड चार लेनमा विस्तार भएको छ । चार वर्ष लगाएर स्तरोन्नति गरिएको यो सडक फराकिलो पारेर कालोपत्रे र लाइन मार्किङपछि अहिले निकै आकर्षक देखिएको छ ।
२.२ किलोमिटर दूरीको यो सडक भूपी शेरचन राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैअन्तर्गत पर्छ । समयमै काम नसकिएपछि स्थानीयसहित पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ आउजाउ गर्नेले निकै सास्ती भोग्नुपरेको थियो । ०८१ असार १५ मा स्थानीयले सडकमै धान रोपेर विरोध गरेका थिए ।

मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले ०७९ साउन १४ मा ४८ करोड रुपैयाँमा यो सडकखण्ड स्तरोन्नतिको ठेक्का पाएको थियो । दुई वर्षमा सक्ने गरी सम्झौता भएकोमा तीनपटक म्याद थप भएपछि यो वर्ष काम सकिएको हो ।
०८१ साउनसम्म काम नसकिएपछि सोही वर्ष चैत मसान्तसम्म म्याद थप गरिएको थियो । ठेकेदारलाई पछिल्लोपटक ०८३ वैशाख मसान्तसम्मको समयावधि दिइएको थियो ।





