काठमाडौँ । सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनमा कार्यरत चालक, सहचालक र सहयोगीहरूको पारिश्रमिकबाट कर कट्टी गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने भएको छ।

आन्तरिक राजस्व विभागले यातायात व्यवस्था विभागलाई पत्राचार गर्दै अबदेखि सवारी साधनको दर्ता वा नवीकरण गर्दा चालक, सहचालक र सहयोगीको पारिश्रमिक विवरण तथा त्यसबाट कट्टी गरिएको कर सरकारी राजस्व खातामा दाखिला गरेको प्रमाण अनिवार्य रूपमा पेस गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो।

ADVERTISEMENT

विभागले आयकर ऐन, २०५८ अनुसार करयोग्य आय आर्जन गर्ने सबै व्यक्ति करको दायरामा आउनुपर्ने उल्लेख गर्दै सवारी धनी वा सम्बन्धित निकायले पारिश्रमिक भुक्तानी गर्दा नियमानुसार कर कट्टी गरी सरकारी ढुकुटीमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ।

ADVERTISEMENT

हाल धेरैजसो यातायात मजदुरहरू करको औपचारिक दायराबाहिर रहेको र पारिश्रमिकको आधिकारिक अभिलेखसमेत नराखिएको पाइएपछि यस्तो व्यवस्था लागू गर्न लागिएको विभागले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार कर कट्टी गरेको प्रमाण पेस नगरेसम्म सवारी साधनको दर्ता वा नवीकरण प्रक्रिया अगाडि बढ्ने छैन। विभागका अनुसार यो निर्णयले यातायात क्षेत्रमा कार्यरत हजारौँ मजदुरलाई औपचारिक कर प्रणालीमा ल्याउनुका साथै राज्यको राजस्व संकलन पनि बढाउने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

744593852_1395890622640248_7924327510276051969_n