काठमाडौं। यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभाले बोनस सेयर र नगद लाभांश पारित गरेकाे छ । बुधबार काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरण, बोनस सेयर वितरण तथा अन्य विभिन्न प्रस्तावहरूसमेत पारित गरेको छ।
साधारणसभाले सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफलसहित पारित गरेको कम्पनीले जनाएको छ।
सभाले सञ्चालक समितिको प्रस्तावअनुसार हाल कायम रहेको २ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजीको ४.२८५७ प्रतिशतका दरले ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश, अर्थात् ५२ लाख १० हजार ५२६ रुपैयाँ वितरण गर्ने प्रस्ताव पनि पारित भएको छ।
बोनस सेयर वितरणपछि कम्पनीको जारी पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँबाट बढेर करिब २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ। सोहीअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि साधारणसभाले अनुमोदन गरेको छ।
त्यसैगरी, लेखापरीक्षण समितिको सिफारिसबमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ।
साधारणसभाले प्रबन्धपत्र तथा नियमावली सम्बन्धित नियामक निकायबाट स्वीकृत हुने क्रममा आवश्यक संशोधन, थपघट वा परिमार्जन गर्नुपर्ने अवस्था आएमा सो कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावसमेत स्वीकृत गरेको छ।






