बैंकक ।  थाइल्यान्डको राजधानी बैंककस्थित एक लोकप्रिय बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्।

थाइ प्रधानमन्त्री अनुटिन चानविराकुलका अनुसार आगो सल्किएको भवनबाट २७ जनाको शव निकालिएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही व्यक्ति अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

ADVERTISEMENT

आइतबार मध्यरातपछि लागेको आगो फैलिँदा बारभित्र रहेका ग्राहकहरू मुख्य ढोकाबाट ज्यान जोगाउन भागेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा बारबाट आगोको ठूलो लप्का निस्किएको र मानिसहरू आत्तिँदै बाहिर निस्किरहेको देखिन्छ। भागदौडका क्रममा केही व्यक्ति लडेका थिए भने कम्तीमा दुई जनाको शरीरमा आगो सल्किएको देखिएको छ।

अग्निनियन्त्रकहरूले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिए पनि त्यसअघि नै ठूलो मानवीय र भौतिक क्षति भइसकेको थियो। मृत्यु हुनेमध्ये नौ पुरुष र १८ महिला रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

ADVERTISEMENT

प्रधानमन्त्रीका अनुसार आगो सल्किएपछि धेरै मानिस भवनको पछाडिपट्टि रहेको शौचालयतर्फ भागेका थिए, जहाँ धुवाँका कारण निसास्सिएर धेरैको मृत्यु भएको प्रारम्भिक अनुमान छ। घटनाका बेला प्रस्तुति दिइरहेका एक सङ्गीतकारका अनुसार विद्युतीय कट–आउट स्विचमा आगो लागेपछि विस्फोट भएको र त्यसपछि आगो तीव्र रूपमा फैलिएको थियो।

बैंककको चाटुचक जिल्लास्थित ‘रोङ बियर ना लात फ्राओ’ नामक उक्त बार स्थानीय क्षेत्रमा लोकप्रिय रेस्टुरेन्ट तथा मनोरञ्जनस्थलका रूपमा परिचित छ। आगलागीपछि सार्वजनिक तस्बिरहरूमा बारको भित्री संरचना पूर्ण रूपमा जलेर नष्ट भएको देखिएको छ।

बैंककका गभर्नर चाटचार्ट सिट्टिपुन्टले बारभित्र प्रयोग गरिएका प्रज्वलनशील सामग्रीका कारण आगो तीव्र रूपमा फैलिएको प्रारम्भिक अनुमान रहेको बताएका छन्। साथै, आपत्कालीन निकास अवरुद्ध भएको हुन सक्ने विषयमा पनि अनुसन्धान भइरहेको छ। आगलागीको वास्तविक कारण पत्ता लगाउन फरेन्सिक टोलीले विस्तृत अनुसन्धान सुरु गरेको छ।