काठमाडौं — निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हाल्नुभएको छ।
यसअघि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रहनुभएका रामप्रसाद भण्डारी असार २३ गते ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि आयोगको वरियताअनुसार डा. तुलाधरलाई उक्त जिम्मेवारी दिइएको हो। पाँच सदस्यीय आयोगमा हाल डा. तुलाधर र आयुक्त सगुनशमशेर जबरा मात्र कार्यरत छन्।
यसअघि तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कार्यकाल २०८२ वैशाख ५ गते तथा तत्कालीन निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको कार्यकाल २०७९ फागुन ४ गते समाप्त भएको थियो।
यसैबीच, संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान गर्दै सुनुवाइ प्रक्रिया अघि बढाएको छ। संवैधानिक परिषद्ले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ।





