काठमाडौं । चीनका लागि नेपालका सातजना पूर्वराजदूतले दलाई लामाको ९१औँ जन्मदिन काठमाडौंमा औपचारिक रुपमा मनाउन दिइएकोप्रति आपत्ति जनाएका छन् ।

पूर्व राजदूतहरु राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीद्वारा संयुक्त रूपमा जारी अपिलमा नेपालले अवलम्बन गर्दै आएको एक-चीन नीतिप्रतिको प्रतिबद्धता दृढतापूर्वक पालना गर्न आग्रह गरिएको छ।

पूर्वराजदूतहरूले नेपालले सधैं एक-चीन नीति दृढतापूर्वक अपनाउँदै आएको, नेपाली भूमिबाट कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रतिकूल असर पर्ने गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त हुँदै आएको स्मरण पनि गराएका छन्।

ADVERTISEMENT

उनीहरूले परराष्ट्रमन्त्री शिशिर खनालको हालैको चीन भ्रमणका क्रममा पनि उक्त प्रतिबद्धता दोहोर्याइएको उल्लेख गर्दै लेखेका छन्, ‘के अब नेपालले छिमेकीसँगको परराष्ट्र नीति बदलेको हो ?’

ADVERTISEMENT

वक्तव्यमा कार्यक्रम सरकारको सहमतिमा भएको भए त्यसले नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएदेखि कायम रहेको एक–चीन नीतिको प्रतिकूल हुने दाबी गरिएको छ । त्यस्तो गतिविधिले नेपालले अवलम्बन गर्दै आएको भूराजनीतिक सन्तुलनमा समेत नकारात्मक प्रभाव पार्न सक्नेतर्फ उनीहरूको चिन्ता छ ।

ADVERTISEMENT

पूर्वराजदूतहरूले यस्ता गतिविधि देशको स्थायित्व,विकास र स्वतन्त्रताका लागि प्रत्युत्पादक हुन सक्ने चेतावनी दिँदै नेपाल सरकारसहित सबै सरोकारवालालाई सतर्क र सचेत रहन आग्रह गरेका छन्।

राज्यका सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित जिल्ला सुरक्षा समितिले बिदाको दिन आइतबार बैठक राखेर भोलिपल्ट कार्यक्रम सञ्चालनको अनुमति दिएपछि आयोजित कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको समेत सहभागिता थियो । कार्यक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै पूर्वराजदूतहरुले सरकारलाई परराष्ट्र नीतिप्रति संवेदनशील हुन आग्रह गरेका हुन् ।