किन्शासा । कंगोमा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा फैलिएको छ । संक्रमि संख्या एक हजार ५२८ र ४९२ जनाको मृत्यु भएको छ ।

कंगोका जनस्वास्थ्य अधिकारीले शनिबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हालसम्म २३९ जना सङ्क्रमित निको भएका छन् भने ६२८ जना आइसोलेसन केन्द्र वा अस्पतालमा उपचाररत छन् । यसका साथै १८५ जना शंकास्पद बिरामीको पनि पहिचान गरिएको छ ।

ADVERTISEMENT

प्रतिवेदनमा पछिल्ला सातामा नयाँ सङ्क्रमितको सङ्ख्या निरन्तर बढ्दै गएको उल्लेख गरिएको छ । महामारीको गणनाअनुसार २५औँ र २६औँ सातामा प्रत्येक सातामा ३०० भन्दाबढी नयाँ सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यसले समुदायस्तरमा सङ्क्रमण अझै सक्रिय रूपमा फैलिरहेको संकेत गरेको अधिकारीले बताएका छन् ।

प्रतिवेदनमा मृत्युपश्चात् नमूना संकलनमा समुदायको असहयोग तथा विशेषगरी उत्तर किभुमा रहेका इबोला उपचार केन्द्रको सीमित क्षमतालगायतका चुनौती उल्लेख गरिएको छ । सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको प्रभावकारी खोजी गर्न नसकिएको अवस्था र प्रयोगशाला परीक्षणमा हुने ढिलाइले पनि सङ्क्रमण नियन्त्रणमा कठिनाइ उत्पन्न गरेको जनाइएको छ ।

ADVERTISEMENT

साथै, औषधि तथा सङ्क्रमण नियन्त्रणसम्बन्धी सामग्रीको अभाव, असुरक्षा र प्रभावित केही क्षेत्रमा सीमित पहुँचका कारण महामारी नियन्त्रण प्रयास प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।