काठमाडौं । सूचना प्रविधि (आईटी) र व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीहरूले विकास गरेका नवप्रवर्तनशील परियोजनाको प्रदर्शनी ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ काठमाडौंमा सुरु भएको छ।

अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँग सम्बन्धन प्राप्त प्रेसिडेन्सियल ग्राजुएट स्कुलले आयोजना गरेको दुईदिने टेक तथा बिजनेस कार्निभल बिहीबारदेखि सुरु भई शुक्रबारसम्म सञ्चालन हुनेछ।

विद्यार्थीहरूको सिर्जनशीलता, डिजिटल नवप्रवर्तन तथा भविष्यका सीप प्रदर्शन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बीएससी आईटीका विद्यार्थीहरूले एआई, सफ्टवेयर तथा वेब डेभलपमेन्ट, साइबर सुरक्षा र मल्टिमिडियामा आधारित ५५ भन्दा बढी परियोजना प्रदर्शन गरेका छन्। करिब १७० विद्यार्थीको सहभागिता रहेको प्रदर्शनीका परियोजनाले प्राविधिकसँगै व्यावसायिक सम्भावना पनि बोकेको आयोजकको भनाइ छ।

ADVERTISEMENT

प्रदर्शनीमा पुष्पवृष्टि गराउने एफपीभी ड्रोन, फुटबल खेल्ने रोबोट, संगीतमा नाच्ने डान्सिङ रोबोट, अनुहारको भाव विश्लेषण गरेर संगीत सिफारिस गर्ने एआई प्रणाली, स्मार्ट सिँचाइ, स्मार्ट होम सिस्टम, साइबर सुरक्षा समाधान तथा रिमोटबाट सञ्चालन गर्न सकिने अटोनोमस गाडीलगायत परियोजनाले दर्शकको विशेष ध्यान आकर्षित गरेका छन्।

ADVERTISEMENT

कलेजका संस्थापक तथा अध्यक्ष लक्ष्मण केसीका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीलाई लगानीकर्ता र उद्योग क्षेत्रसँग जोड्दै नवप्रवर्तनलाई व्यवसायिक उत्पादन तथा स्टार्टअपमा रूपान्तरण गर्नु हो। कलेजको बिजनेस इन्क्युबेसन सेन्टरले उत्कृष्ट परियोजनालाई थप विकास गर्न आवश्यक सहजीकरण गर्ने उनले बताए।

ADVERTISEMENT

यस वर्षको कार्यक्रमलाई कम्प्युटर भिजन तथा कृत्रिम बुद्धिमत्ता (एआई), आइओटी तथा रोबोटिक्स, साइबर भिलेज, सफ्टवेयर र टेक्नोभर्सिटी गरी पाँच मुख्य क्षेत्रमा विभाजन गरिएको छ। उत्कृष्ट परियोजनालाई एक लाख रुपैयाँसम्म पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रम प्लस टु उत्तीर्ण, स्नातक तहका विद्यार्थी तथा सूचना प्रविधि र उद्यमशीलतामा रुचि राख्ने युवालाई लक्षित गरिएको छ। प्रदर्शनीमा प्रवेश निःशुल्क राखिएको छ।