काठमाडौं। विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा स्वीडेनले प्रभावशाली प्रदर्शन गर्दै ट्युनिसियामाथि ५–१ को फराकिलो जित दर्ता गरेको छ। अमेरिकामा सम्पन्न खेलमा स्वीडेनले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।

स्वीडेनका लागि खेलको सातौँ मिनेटमै यासिन आएरीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। आफ्नो बुवाको जन्मभूमि ट्युनिसियाविरुद्ध गोल गरेपछि उनले संयमित शैलीमा उत्सव मनाएका थिए। त्यसपछि २८औँ मिनेटमा अलेक्जान्डर इसाकले गोल थप्दै स्वीडेनको अग्रता दोब्बर बनाए।

ADVERTISEMENT

ट्युनिसियाले पहिलो हाफ सकिनुअघि ४२औँ मिनेटमा ओमार रेकिकको गोलमार्फत खेलमा फर्कने संकेत दिएको थियो। तर दोस्रो हाफमा स्वीडेनले पुनः खेलमाथि नियन्त्रण कायम गर्यो।

खेलको ५९औँ मिनेटमा भिक्टर ग्योकेरेसले गोल गर्दै स्वीडेनलाई ३–१ को अवस्थामा पुर्‍याए। त्यसपछि ८८औँ मिनेटमा माटियास स्भानबर्गले गरेको गोल सुरुमा अफसाइड ठहर भए पनि भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षा पछि गोल मान्यता पायो।

ADVERTISEMENT

इन्जुरी समयमा यासिन आएरीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गर्दै स्वीडेनको जितलाई अझै प्रभावशाली बनाए। अन्ततः खेल ५–१ को नतिजासहित स्वीडेनको पक्षमा टुंगियो।

यस जितसँगै स्वीडेनले समूह चरणमा महत्वपूर्ण तीन अंक जोडेको छ। यसअघि समूह ‘ई’ को अर्को खेलमा जर्मनीले क्युरासाओलाई ७–१ ले पराजित गरेको थियो।

यस्तै, समूह ‘एफ’ अन्तर्गत जापान र नेदरल्याण्ड्सबीचको खेल २–२ को बराबरीमा सकिएको थियो भने आइभरी कोस्टले इक्वेडरलाई १–० ले हराउँदै विजयी सुरुआत गरेको छ।