काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका १८३ जना नेताले पार्टी परित्याग गरेका छन् । महामन्त्री डा. धवलशमशेर राणाको नेतृत्वमा १८३ नेताहरुले बिहीबार सामूहिक राजीनामा गरेका छन् । काठमाडौंमा आयोजित एक भेलामार्फत उनीहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।

शीर्ष तहमा रहेका अन्य नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइरालालगायतले राप्रपा परित्याग गरेका छन् ।

राप्रपा परित्याग गर्नेहरूमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्यलगायत छन् । मूल नेतृत्वको हीनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन् ।

ADVERTISEMENT

जनताकेन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुने भनिए पनि त्यसअनुसार पार्टी सञ्चालन नभएको हुँदा पार्टी परित्याग गर्नुपरेको उनीहरूको भनाइ छ । केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई पार्टीको मूल नेतृत्व ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदार बनेकोप्रति आपत्ति जनाइएको छ ।

ADVERTISEMENT

स्वेच्छाचारिताको नियमन गरेर जवाफदेहिता स्थापित गर्ने प्रयासहरू हुँदा नेता कार्यकर्तामाथि निरंकुश शैलीमा कारवाही गरिरएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।

ADVERTISEMENT

‘राजसंस्था पूनर्स्थापनाका आन्दोलनहरू पटकपटक तुहाउन मूल अगुवा नै अग्रसर भए जबकि संसदमा संवैधानिक राजसंस्थाको पक्षमा एउटै पनि प्रस्ताव दर्ता गरिएन,’ सामूहिक राजीनामा पत्रमा भनिएको छ ।