काठमाडौँ। संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगले बुद्ध पूर्णिमाका अवसरमा ‘बुद्ध, जेनेभा महासन्धि र विश्व शान्ति’ विषयमा उच्चस्तरीय छलफल आयोजना गरेको छ।
जेनेभास्थित प्याले दे नेसन्समा आयोजित कार्यक्रममा बुद्धका अहिंसा, करुणा, सचेतना र शान्तिपूर्ण सहअस्तित्वसम्बन्धी शिक्षाले युद्ध सीमित गर्ने र मानव सुरक्षामा केन्द्रित जेनेभा महासन्धिको मानवीय मूल्यसँग पूरक सम्बन्ध राख्ने धारणा व्यक्त गरिएको छ।
कार्यक्रममा नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी, स्वीस महासङ्घको सङ्घीय विदेश मामिला विभागअन्तर्गत एशिया–प्रशान्त महाशाखा प्रमुख मार्कस लाइट्नर, मङ्गोलिया, थाइल्याण्ड र अन्य देशका स्थायी प्रतिनिधिहरू, साथै अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्घका महासचिव जगन चापागाईं, आइसिआरसी, युपिस र जेनेभा ग्राजुएट इन्स्टिच्युटका प्रतिनिधिहरूले बुद्धका उपदेशबारे धारणा राखेका थिए।
लाइट्नरले विश्व शान्तिमा बुद्धको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपाल–स्वीट्जरल्यान्ड कूटनीतिक सम्बन्ध ७० वर्ष पुगेको बताए।
कार्यक्रममा बङ्गलादेश, भुटान, कम्बोडिया, भारत, लाओस, मेक्सिको, सिङ्गापुर, श्रीलङ्का, भियतनाम, नर्वे र पाकिस्तानका प्रतिनिधिहरूले पनि विचार व्यक्त गरेका थिए।
करिब एक सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको उक्त छलफलले बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्ध, विश्व शान्ति तथा लुम्बिनी–जेनेभा सम्बन्धलाई जोड्ने अवसर दिएको बताइएको छ।






