काठमाडौं । सरकारले अध्यादेश ल्याएर एकैपटक १२ सयभन्दा बढी राजनीतिक नियुक्ति खारेज गर्ने तयारी गरेसँगै त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारीले राजीनामा दिने तयारी गरेका छन् । बिहीबार साँझसम्म चारैजनाले राजीनामा दिने भएका हुन् ।

‘सरकारले नयाँ ल्याउने भनेपछि हामीले राजीनामा दिन्छौ, उहाँहरुका लगि ठाउँ खाली गरिदिन्छौं, आज साँझसम्म राजीनामा दिन्छौं,’ त्रिवि उपकुलपति प्रा.डा. दीपक अर्यालले भने । उनले भने, ‘राजीनामा दिन भनेर कुनै पत्र त आएको छैन, तर हामीले आफै बुझेर राजीनामा दिन लागेका हौँ ।’

सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश ल्याउँदै छ । सोही कारण त्रिविका पदाधिकारी उपकुलपति अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले राजीनामा दिने तयारी गरेका हुन्।

अघिल्लो केपी ओली सरकारका पालामा अर्याल उपकुलपति नियुक्त भएका थिए । सरकारले गठन गरेको सर्च कमिटीका आधारमा नियुक्ति पाएका अर्याल एउटा पनि काम नै देखाउन नपाई बिदा हुने तयारीमा छन् ।