काठमाडौं । ओखलढुंगाबाट कांग्रेस उम्मेदवार कुमार लुइँटेललाई मात्र पाँच मत जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेल विवादमा तानिएका छन् । आफू ओखलढुंगा पुग्दा विद्यालयका प्रधानाध्यापक स्वागत गर्न नआएको भन्दै उनले दिएको अभिव्यक्तिप्रति व्यापक विरोध भएको छ।
पूर्व एआईजी पोखरेलले आफ्नो गृहजिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई सार्वजनिक रूपमा थर्काएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । स्वागत गर्न नआएकोमा असन्तुष्टि जनाउँदै उनले भनेका थिए, ‘म आउँदैछु भनेपछि तपाईं निस्किनुपर्छ। तपाईं कर्मचारी हो, म रिटायर्ड विशिष्ट श्रेणीको कर्मचारी हुँ।’ आफूलाई माननीयको रूपमा प्रस्तुत गर्दै उनले जिल्लाको माननीय आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने ? भन्दै थर्काएका थिए ।
पोखरेलको अभिव्यक्तिप्रति पार्टीभित्र र बाहिर दुवैतर्फबाट आलोचना भइरहेको छ। पूर्वशिक्षामन्त्री महावीर पुनले यस्तो व्यवहार गर्ने सांसदलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।
पोखरेलको नाम उल्लेख नगरी पुनले सांसद जनताको सेवक भएको स्मरण गराउँदै भनेका छन्, ‘यी कुन पार्टीका हुन् थाहा छैन। म यिनको नेता भएको भए तत्काल बर्खास्त गरेर घर पठाउने थिएँ। सांसद भनेको जनताको नोकर हो। उसले जनताले दिएको जिम्मेवारी पूरा गर्नुपर्छ,’ पुनले भनेका छन्, ‘पाँच वर्षसम्म आफ्नो समय र क्षमता जनताको सेवामा लगाउनुपर्छ। स्वागत नगरेको विषयमा सार्वजनिक रूपमा धाक देखाउनु गलत हो। या त तुरुन्त माफी माग्नुपर्छ, होइन भने जनताले फिर्ता बोलाउनुपर्छ। यसले सांसद पदकै अपमान गरेको छ।’
रास्वपाका केन्द्रीय सदस्य तथा मोरङ-३ बाट निर्वाचित गणेश कार्कीले ‘भुइँ नछोड्न’ सुझाव दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सांसद पद पनि बढीमा पाँच वर्षकै लागि हो। हजुर, एक भोट दिनुहोस् भन्दै हजारौंलाई नमस्कार गरेको दुई महिना पनि भएको छैन, त्यसलाई बिर्सिनु हुँदैन। भुइँ नछोडौँ।’
पार्टीका अन्य कार्यकर्ताहरूले पनि सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्। रास्वपामा सुरुदेखि सक्रिय स्वस्तिका लामिछानेले सांसद पोखरेलको व्यवहारप्रति आपत्ति जनाउँदै लेखेकी छन्, ‘माननीयज्यूले बोल्ने तरिका सिक्नुपर्ने देखिन्छ। जनतासँग कसरी बोल्ने भन्ने सिकाउन हामी तयार छौं। आफूभन्दा सानालाई थर्काएजस्तो मतदातालाई थर्काउन पाइँदैन। तपाईंलाई माननीय बनाउन हाम्रो ठूलो मेहनत छ। त्यसको कदर हुनुपर्छ। माननीय भएँ भन्दैमा अहंकार देखाउनु ठीक होइन। जनताले उचाल्न सक्छन् भने तल झार्न पनि सक्छन्।
केही दिनअघि पाेखरेलले आफूले आइजी बन्न आरजु देउवालाई सात कराेड बुझाएकाे भए सांसद बन्न पाउने थिइनँ भन्दै दिएकाे अभिव्यक्ति पनि विवादमा परेकाे थियाे ।







