काठमाडौं।नबिल बैंक लिमिटेडले पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा आफ्नो बैंकिङ प्रणालीमार्फत ग्राहकको गोपनीयता भंग भएको र कारोबारसम्बन्धी विवरण चुहिएको भन्ने दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्दै स्पष्टिकरण सार्वजनिक गरेको छ।

बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा यस्ता आरोपहरू प्रमाणविहीन, आधारहीन तथा नियोजित रूपमा फैलाइएका भ्रामक सूचना भएको उल्लेख गर्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकका अनुसार यस्ता गलत सूचनाले आम जनमानसमा बैंकिङ प्रणालीप्रतिको विश्वास कमजोर पार्ने प्रयास भइरहेको देखिन्छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार हालै केही सञ्चार माध्यममा प्रकाशित समाचारमा “अनुसन्धानरत निकायबाट प्राप्त बैंकिङ कारोबार विवरण” भन्ने उल्लेख भए पनि त्यसलाई आधार बनाएर सामाजिक सञ्जालमा बैंकलाई दोषारोपण गर्ने गरी गलत व्याख्या गरिएको बैंकको दाबी छ। बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाका कारोबार विवरणलाई गलत रूपमा जोडेर आफूविरुद्ध दुष्प्रचार गरिएको जनाएको छ।

बैंकले स्पष्ट पारेको छ कि कुनै पनि ग्राहकको व्यक्तिगत सूचना वा कारोबार विवरण ग्राहक स्वयं, निजको आधिकारिक प्रतिनिधि वा प्रचलित कानुनअनुसार अधिकार प्राप्त नियामकीय तथा अनुसन्धानकारी निकायको औपचारिक प्रक्रिया बाहेक अन्य कुनै पनि व्यक्ति, सञ्चार माध्यम वा अनधिकृत निकायलाई उपलब्ध गराइँदैन। बैंकले यस्तो सूचना उपलब्ध गराएको भन्ने आरोप पूर्ण रूपमा असत्य भएको स्पष्ट पारेको छ।

बैंकका अनुसार यदि कुनै ग्राहकको विवरण प्रणालीबाट लिइएको अवस्थामा पनि कोर बैंकिङ सिस्टममा कुन मितिमा, कुन कर्मचारीले, कुन प्रयोजनका लागि विवरण हेरेको वा निकालेको हो भन्ने सम्पूर्ण डिजिटल अभिलेख सुरक्षित रहने व्यवस्था रहेको छ। यसले बैंकिङ प्रणालीमा उच्चस्तरको पारदर्शिता र निगरानी सुनिश्चित गर्ने बैंकको दाबी छ।

विज्ञप्तिमा थप भनिएको छ कि नबिल बैंकजस्तो चार दशकभन्दा लामो इतिहास भएको, क वर्गको वाणिज्य बैंकले ग्राहक गोपनीयता जस्तो संवेदनशील विषयमा कुनै पनि प्रकारको सम्झौता गर्न नसक्ने र नगर्ने स्पष्ट नीति रहेको छ। बैंकले प्रचलित कानून, नियमन, निर्देशन तथा आन्तरिक सुशासन प्रणालीअनुसार उच्चतम बैंकिङ नैतिकता पालना गर्दै आएको पनि उल्लेख गरेको छ।

बैंकले हाल फैलाइएका आरोपहरूलाई गलत, भ्रामक र उद्देश्यपूर्ण दुष्प्रचार भन्दै यस्ता गतिविधिबाट जनमानसलाई भ्रमित नपार्न आग्रह गरेको छ। साथै, यस प्रकारको नियोजित दुष्प्रचारमा संलग्न व्यक्ति वा निकायविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ तथा अन्य प्रचलित कानुनअनुसार कानुनी कारबाही अघि बढाइने चेतावनी पनि दिएको छ।

बैंकले सबै ग्राहक तथा सरोकारवालालाई यस्ता भ्रामक सूचनामा विश्वास नगर्न अनुरोध गर्दै सुरक्षित, विश्वसनीय र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्न आफू सधैं प्रतिबद्ध रहेको जनाएको छ। साथै, ग्राहक गोपनीयता र डेटा सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर सेवा दिइँदै आएको र आगामी दिनमा पनि अझ सुदृढ बनाइने बैंकले स्पष्ट पारेको छ।