काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘यूनियन पे इन्टरनेश्नल’सँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात गरेको छ । ग्राहकलाई आधुनिक, सुरक्षित र सहज बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यका साथ क्यूआर भुक्तानी सेवाको सुरुवात गरिएको हो ।
आफ्नो फोनपे क्यूआर मर्चेन्ट नेटवर्कमार्फत यूनियन पे वालेट प्रयोगकर्ताले नेपालभित्रै क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । यो सेवा ‘फोन पे’सँगको सहकार्यमा कार्यान्वयन गरिएको हो ।
यस सुविधापछि यूनियनपे डिजिटल वालेट प्रयोगकर्ताले नेपालभर रहेका महालक्ष्मी विकास बैंकका क्यूआर मर्चेन्टहरूमा सहज रूपमा भुक्तानी गर्न सक्नेछन् । विशेषगरी चीनलगायत विभिन्न देशबाट नेपाल आउने पर्यटकहरू यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ । यसले यात्राका क्रममा नगद बोक्नुपर्ने आवश्यकतालाई पनि कम गर्ने विश्वास गरिएको छ ।
सन् २००२ मा स्थापना भएको यूनियन पे विश्वका प्रमुख भुक्तानी सेवा प्रदायकहरूमध्ये एक हो । कम्पनीका अनुसार हालसम्म ९दशमलव ६ अर्बभन्दा बढी कार्ड जारी भइसकेका छन् भने यसको सेवा १८० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध छ ।
बैंकले यस सेवाको सुरुवातसँगै नेपालमा विद्यमान क्यूआर भुक्तानी पूर्वाधार अझ प्रभावकारी हुने विश्वास लिएको छ । साथै, डिजिटल नवप्रवद्र्धनलाई सुरक्षित, प्रभावकारी र समावेशी बनाउने दिशामा आफू प्रतिबद्ध रहेको पनि बैकले जनाएको छ ।
यसैबीच, बैंकले आर्थिक वर्ष २०८३ लाई ‘डिजिटल प्रवद्र्धन वर्ष’का रूपमा मनाउने योजनाअनुसार “महालक्ष्मी स्मार्ट साथी” मोबाइल एपमार्फत विशेष योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत वैशाख महिनाको पहिलो साता सफल कारोबार गर्ने सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये तीन जनालाई गोलाप्रथाद्वारा आकर्षक भ्रमण प्याकेज प्रदान गरिने जनाएको छ ।
“सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात गर्दै बैंकले देशभर १०३ शाखा कार्यालयमार्फत करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।







