काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक सुरु भएको छ । धुम्बराहीस्थित स्मार्ट होटेलमा शेरबहादुर देउवा समूहको बैठक बसेको हो ।
बैठकमा पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, कल्याण गुरुङ, गुरु बराल, रामहरि खतिवडा, मदन अमात्य, कल्याणी रिजालगायत सहभागी छन् । देउवा समूहको बैठक शेखर कोइराला र शशांक कोइराला पक्षले बहिष्कार गरेको छ ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा–विश्वप्रकाश शर्मा समूहलाई दिने फैसला सुनाएपछि कांग्रेसका निवर्तमान कार्यवाहक सभापति खड्काले आइतबार पुरानो केन्द्रीय समितिको बैठक बोलाएका हुन् । तर कोइराला निकट कोही नेता पनि बैठकमा सहभागी भएका छैनन् । जति गएका छन् देउवा समूहका मात्रै छन् ।
आजको बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने भएको छ । देउवा समूहका अधिकांश नेताले राजनीतिक लडाइँ जारी राख्ने भन्दै बल अब सभापति थापाको कोर्टमा पुगेको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसले १५औं महाधिवेशनको कार्यतालिका प्रकाशन गरिसकेको छ । देउवा समूहले पार्टीको महाधिवेशनसम्बन्धी कार्यतालिका अमान्य हुने बताएको थियो । यो विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । बैठकमा सहभागीहरुको अनुहार निकै मलिन देखिएको छ । कसैको अनुहार उज्यालो छैन ।
निर्वाचन आयोग र सर्वोच्च अदालत दुवैले गगन थापाको नेतृत्वलाई वैधानिकता दिएपछि देउवा समूह रणनीतिक छलफलमा जुटेको हो । तर शेखर पक्ष भने मध्यमार्गी भूमिका खेल्ने पक्षमा देखिएको छ । कांग्रेसलाई कुनै पनि हालतमा विभाजन हुन नदिने भन्दै शेखरले मिलाएर नियमित महाधिवेशनमा सहभागी हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।






