काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक सुरु भएको छ । धुम्बराहीस्थित एक होटेलमा शेरबहादुर देउवा समूहको बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा–विश्वप्रकाश शर्मा समूहलाई दिने फैसला सुनाएपछि कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार पुरानो केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।

आजको बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने भएको छ । देउवा समूहका अधिकांश नेताले राजनीतिक लडाइँ जारी राख्ने भन्दै बल अब सभापति थापाको कोर्टमा पुगेको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसले १५औं महाधिवेशनको कार्यतालिका प्रकाशन गरिसकेको छ । देउवा समूहले पार्टीको महाधिवेशनसम्बन्धी कार्यतालिका अमान्य हुने बताएको थियो । यो विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । बैठकमा सहभागी हुन खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटाैला, रामहरि खतिवडा, मदन अमात्य, कल्याणी रिजालगायत हाेटेल पुगिसकेका छन् ।