काठमाडौँ । सरकारले आइतबार र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ए खुवाउँदै छ । राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत स्वास्थ्य मन्त्रालयले दुई दिन भिटामिन एसँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए ।

उनका अनुसार कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि अलबेन्डाजोल पनि खुवाउन थालिएको छ । त्यसका लागि स्थानीय तहले पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरेका छन् ।

कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन् ।

भिटामिन एले आँखाको ज्याति, रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने र जुकाको औषधिले पेटका किरा हटाउनुका साथै बालबालिकालालाई कुपोषण, रगतको कमी, पेट दुख्ने, झाडापखाला जस्ता समस्याबाट बचाउने चिकित्सकले जनाएका छन् ।

भिटामिन ए कमीको रोकथाम तथा उपचारका लागि विसं २०५० मा आठ जिल्लाबाट सुरु भएको कार्यक्रम विसं २०५९ देखि देशभरि नै लागू गरिएको थियो ।

यस्तै, जुका नियन्त्रण तथा रोकथामका लागि विसं २०५६ बाट १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ सालबाट सबै जिल्लामा लागू गरिएको थियो । प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ए र जुकाको निःशुल्क खुवाउने गरिएको छ ।