काठमाडौं । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्र चल्ने साझा बस सेवालाई पूर्ण रूपमा निःशुल्क बनाउने प्रस्ताव अघि सारेका छन् । मंगलबार साझा यातायातद्वारा सञ्चालित नयाँ रुटको शुभारम्भ कार्यक्रममा उनले सार्वजनिक यातायातलाई सेवामुखी र दिगो बनाउन यस्तो योजना सुनाएका हुन् ।
महर्जनले साझा यातायातलाई नेपालकै सबैभन्दा सफल र अनुभवी सार्वजनिक यातायात संस्था भएको बताए । उनले कुनैपनि योजना सुरु गर्नु मात्र ठूलो कुरा नभई त्यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण हुने बताए । हाल दुईवटा रुटमा सुरु गरिएको सेवाको खर्च सुरुवाती तीन महिना साझा यातायातले नै व्यहोर्ने सहमति भएको छ ।
त्यसपछि भने सम्बन्धित पालिकाहरूले दामासाही आधारमा खर्च व्यहोर्ने प्रावधान छ । तर मेयर महर्जनले भने तीन महिनापछि सर्वसाधारणबाट शुल्क लिनुको सट्टा महानगरले नै खर्च व्यहोरेर निःशुल्क बनाउनुपर्ने धारणा राखे । उनले साझा यातायातलाई तत्काल खर्चको अनुमानित विवरण उपलब्ध गराउन आग्रह गर्दै आगामी आर्थिक वर्षको बजेट (रातो पुस्तिका) मा ललितपुर महानगरको तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
‘साझा यातायात भनेको नेपालमा सार्वजनिक बस सञ्चालनमा सबैभन्दा माहिर र सफल संस्था हो । यसमा काठमाडौँ र ललितपुर जस्ता महानगरहरू जोडिएकाले यसको सफलता सुनिश्चित छ । औंसीमा सुरु गरेर पूर्णिमामा विलाउने काम हुनुहुँदैन, यसले हाम्रो इज्जत जान्छ । यो सेवा कुनै पनि हालतमा रोकिनु हुँदैन र यसलाई सस्टेनेबल बनाउनुपर्छ । विश्वका धेरै मेट्रो सिटी र राजधानीहरूमा सार्वजनिक यातायात निःशुल्क गरिएको छ । हामीले पनि राजधानी क्षेत्रमा यस्तो अभ्यास गर्नुपर्छ । तपाईंहरूले हामीलाई भन्नुस्, हामी बजेट मेकिंग सेसनमा छौँ ।ललितपुर महानगरले कति कन्ट्रीब्युसन गर्नुपर्ने हो, त्यो हामी रातो पुस्तिकामा समावेश गर्छौँ,’ उनले भने ।
काठमाडौंमा मंगलवार साँझदेखि वाइफाई सेवासहितका रात्रिकालीन बस सेवा सुरु भएको हो । यो सेवाले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्नेछ ।
बस सञ्चालनको प्रारम्भमा सातवटा बस सञ्चालनमा ल्याइएका छन् । हरेक बस अगाडिको भाग देखिने एउटा, चालक देखिने एउटा र यात्रु देखिने २ वटा गरी ४ वटा सीसीटिभी क्यामराबाट निगरानी हुनेछ ।









