काठमाडौं । मंगलबारदेखि नेपाली नया वर्ष अर्थात् २०८३ सुरु भएको छ । २०८२ अरु वर्षहरु झैं सामान्य वितेको वर्ष पक्कै हैन । सामाजिक, राजनैतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रुपमा पनि यस वर्षले धेरै कुराहरु हामीलाई उपहार दिंदै अनि हरेक उपहारसंगका अनुभव छाडेर गएको छ ।
२०८२ राजनीतिक हिसाबले त उतारचढावपूर्ण वर्ष रह्यो नै, अन्य क्षेत्रमा पनि सम्झन र बिर्सनलायक थुप्रै घटना दुर्घटना भए। जेनजी आन्दोलनले राजनीति त परिवर्तन भयो, तर आर्थिक क्षेत्रमा ठूलो क्षति हुन पुग्यो। भाटभटेनीलगायत थुप्रै उद्योग व्यवसाय ध्वस्त पारिए।
भदौ २४ को विध्व्रसले सबैभन्दा बढी प्रभावित भाटभटेनी सबैभन्दा छिटो उठ्यो पनि। आगलागीमा पूर्ण क्षति भएका धेरै आउटलेट सञ्चालनमा आइसकेका छन्।
यो वर्ष विगतका वर्षहरुमा जस्तै सडक दुर्घटनाको नियति पनि बेहोर्नुपर्यो। खासगरी धादिङ बस दुर्घटना बिर्सनलायक घटना बन्यो। चरौंदीमा भएको दुर्घटनामा तीन विदेशीसहित १९ जनाले ज्यान गुमाए।
खेल क्षेत्रको कुरा गर्ने हो भने त्रिवि क्रिकेट रंगशाला फ्लडलाइटले सजियो र पहिलो पटक नेपालीहरुले रात्रिकालीन क्रिकेटको मजा लिन पाए। ख्यातिप्राप्त अन्तर्राष्ट्रिय खेलाडीहरुको आगमनले रौनक थपियो।
ब्राजिलका प्रख्यात फुटबल खेलाडी रोबर्टो कार्लोसको आगमनले नेपालको प्रचार अन्तर्राष्ट्रियस्तरसम्म हुन सहयोग पुग्यो। नेपाल सुपर लिगका लागि उनलाई नेपाल ल्याइएको थियो।
आर्थिक क्षेत्रमा यो वर्ष उल्लेख्य रहेन। त्यसै पनि शिथिल निजी क्षेत्र जेनजी आन्दोलनले झन् थलियो। यसै वर्ष राष्ट्र बैंकको नयाँ गभर्नरमा विश्व पौडेल नियुक्त भए। यही वर्ष मधेश खडेरीले आक्रान्त बन्यो। धानले हरियाली हुनुपर्ने खेतहरुमा धाँजा फाटे।
रसुवमा बाढीले वितण्डा मच्चाउँदा चीनसँगको नाका लामो समय बन्द हुन पुग्यो। सयौं गाडी बाढीमा बगे, पुरिए। मनोरञ्जन क्षेत्रको कुरा गर्ने हो भने भारतबाट आएका नोरा फतेही, सञ्जय दत्त, सोनु निगम लगायतले काठमाडौं तताए।
इजरायलमा हमासको आक्रमणमा परी विपिन जोशीले ज्यान गुमाए। उनको शव नेपाल ल्याएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो।


default







