काठमाडौँ, २७ चैत । सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने उद्देश्यसहित नागरिक एपमार्फत थप सेवाहरू उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । अब निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोकसेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नागरिक एपबाटै प्राप्त गर्न सकिने भएको छ ।

सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहका अनुसार नयाँ प्रणाली हाल परीक्षण चरणमा रहेको छ र आगामी एक साताभित्र पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्ययोजनाअनुसार नागरिक एपमा थप सेवा एकीकृत गरी ४५ दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले तोकिएको समयभन्दा अघि नै काम सम्पन्न गर्न विभागलाई निर्देशन दिएका छन् । उहाँले नागरिक एपलाई थप प्रभावकारी बनाउन विभिन्न सेवाहरू समेट्न विशेष पहल गर्न निर्देशन दिएका हुन् ।

विभागले विभिन्न निकायसँग समन्वय गर्दै प्रणाली विकास र परिमार्जनको काम अघि बढाइरहेको जनाएको छ । नेपाल इन्जिनियरिङ परिषद्सँगको सहकार्यमा परिषद्बाट जारी हुने व्यावसायिक इन्जिनियर प्रमाणपत्र पनि नागरिक एपबाट उपलब्ध गराउने प्रक्रिया अघि बढिसकेको छ ।

नयाँ सेवा सुरु भएपछि लोकसेवा आयोगका परीक्षार्थीले प्रवेशपत्र, वैदेशिक अध्ययन स्वीकृतिपत्र तथा निजामती कर्मचारीले आफ्ना विवरणहरू सजिलै एपबाट डाउनलोड गर्न सक्नेछन् । हाल परीक्षण जारी रहेकाले नयाँ संस्करण सार्वजनिक भएपछि उक्त सुविधा प्रयोग गर्न सकिनेछ ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीअनुसार सार्वजनिक सेवामा पारदर्शिता र सहजता बढाउने लक्ष्य लिइएको छ । यसअघि नै नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र डाउनलोड गर्ने सुविधा सञ्चालनमा आइसकेको छ ।

सरकारले नागरिक एपलाई एकीकृत डिजिटल सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । यस कदमले सेवाग्राहीलाई समय र लागत बचत गर्नुका साथै सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी र आधुनिक बनाउने अपेक्षा गरिएको छ