काठमाडौं । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको निधन भएको छ। ६४ वर्षीय न्यौपानेको शुक्रबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो।
न्यौपाने एक वर्षदेखि पित्तनलीको क्यान्सर (कोलान्जियोकार्सिनोमा) बाट पीडित थिए। गत वर्ष पेटसम्बन्धी समस्या देखिएपछि पाटन अस्पतालमा परीक्षण गर्दा सुरुमा रोग पहिचान भएको थियो। भिडियो एक्स–रे पछि कलेजोमा डल्ला देखिएको र त्यसपछि एमआरआईमार्फत क्यान्सरको पुष्टि भएको चिकित्सकहरूले बताएका छन्।
रोग पहिचान भएपछि उनले चीन र भारतमा समेत उपचार गराएका थिए। पछिल्लो दुई महिनादेखि भने उनी पाटनमै उपचाररत थिए। चिकित्सकका अनुसार क्यान्सर चौथो चरणमा पुगेपछि मात्र पहिचान भएकाले उपचारपछि निको हुने सम्भावना कम देखिएको थियो।
डा. न्यौपाने अनुभवी सर्जिकल अन्कोलोजिस्ट रहेको उपचारमा संलग्न चिकित्सक डा. अरुण शाही बताउँछन् । न्यौपानेको निधनले क्यान्सर विशेषज्ञ समुदायलाई गहिरो शोकमा डुबाएको उनको भनाइ छ ।
न्यौपानेले पेट, कलेजो, प्यान्क्रियाज, थाइरोइड, स्तन, मिर्गौला तथा छालासम्बन्धी क्यान्सरका थुप्रै जटिल शल्यक्रिया गरेका थिए। उनी सर्जिकल अन्कोलोजी सोसाइटीका अध्यक्षसमेत थिए। साथै, नेपाल क्यान्सर रिलिफ सोसाइटीको केन्द्रीय कार्यसमितिमा पनि आबद्ध थिए।
पछिल्लो समय उनी बी एण्ड बी अस्पताल, ग्वार्को (ललितपुर) र भक्तपुरस्थित क्यान्सर सेन्टरमा कार्यरत थिए।








