काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई पक्राउ गरेको छ। कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँटमा किर्ते गरेको आरोपमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार, नेपाल धितोपत्र बोर्डले गरेको प्रारम्भिक अध्ययनपछि प्राप्त प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि सोमबार अर्याललाई पक्राउ गरिएको हो।धितोपत्र बोर्डको प्रतिवेदनमा अर्यालले कर्मचारीको सेयर आवेदन प्रक्रियामा अनियमितता गर्दै किर्ते कागजात प्रयोग गरेको उल्लेख छ। प्रतिवेदन अनुसार, उनले पेस गरेको प्रतिलिपि फारममा सेयर माग विवरण उल्लेख नभए पनि पछि पेस गरिएको सक्कल फारममा भने सेयर संख्या र रकम उल्लेख गरिएको पाइएकाले शंकास्पद गतिविधि देखिएको हो।
यसैगरी, करिब ३८ जना कर्मचारीका आवेदन फारमहरूमा समेत असामान्य विवरण भेटिएको छ। कतिपय अवस्थामा कर्मचारीलाई खाली फारममा हस्ताक्षर गराएर पछि विवरण भरेको आशंका गरिएको छ।
अध्ययनका क्रममा कम्पनी र बिक्री प्रबन्धकका रूपमा संलग्न नेपाल एसबीआई क्यापिटलका अधिकारीहरूको बयानमा समेत असंगति देखिएको र कतिपयले कमजोरी स्वीकार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। साथै, कर्मचारीको सेयर बाँडफाँटसम्बन्धी निर्णय कम्पनी सञ्चालक समितिबाट औपचारिक रूपमा गरिएको नदेखिएको पनि प्रतिवेदनले औंल्याएको छ।
अनियमित ढंगले सेयर बाँडफाँट गर्दा अर्यालले आफ्नै नाममा १ लाख ४ हजार ६ सय ५० कित्ता सेयर राखेको र पछि पुनः बाँडफाँट गर्दा ७२ हजार कित्ता कायम भएको उल्लेख छ। यस विषयमा असन्तुष्ट कर्मचारीहरूले धितोपत्र बोर्डमा उजुरी दिएका थिए।
धितोपत्र बोर्डले कम्पनीलाई कर्मचारीको सेयर पुनः बाँडफाँट गर्न निर्देशन दिएको छ। साथै, झुटा विवरण पेश गरेको आरोपमा धितोपत्र सम्बन्धी ऐन २०६३ अनुसार ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था अनुसार कारबाही सिफारिस गरिएको छ।
यसबाहेक, सोही ऐनको अन्य प्रावधान अन्तर्गत आपराधिक कसुर देखिएकाले अनुसन्धानका लागि सम्बन्धित कागजातसहित प्रहरीमा पठाइएको बोर्डका अधिकारीहरूले जनाएका छन्।
सन नेपाल लाइफ इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशत बराबर ९६ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो। जसमध्ये कर्मचारीका लागि ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता छुट्याइएको थियो।






