काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले नवगठित सरकारद्वारा जारी शासकीय सुधारसम्बन्धी कार्यसूची स्वागतयोग्य भएको जनाएको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को निर्णयलाई निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने दृष्टिले महत्त्वपूर्ण कदम ठहर गरिएको उल्लेख छ।
अग्रवालका अनुसार, शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यक्रमअन्तर्गत समेटिएको रणनीतिले व्यवसाय, लगानी तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै निजी क्षेत्रप्रति सरकारको स्पष्ट प्रतिबद्धता देखाएको छ। रणनीतिअन्तर्गत भौतिक सुरक्षा, सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, नियमहरूको सरलीकरण, लगानी प्रवद्र्धन तथा युवा उद्यमशीलता विकासजस्ता कार्यक्रम अघि बढाइने उल्लेख गरिएको छ।
उनले भने, “भदौ २३ र २४ गतेका आन्दोलनपछि निजी क्षेत्रले व्यहोरेको क्षति न्यूनीकरण गर्न र व्यवसाय पुनः सञ्चालनका लागि आवश्यक राहत तथा सहुलियत उपलब्ध गराउने निर्णयलाई पनि चेम्बरले सकारात्मक रूपमा लिएको छ।”
अग्रवालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसहरू कार्यान्वयन गर्ने क्रममा १५ वटा कानुन खारेजी प्रक्रियामा लैजाने तयारीलाई उत्साहप्रद कदमको रूपमा लिएका छन्। यससँगै विदेशी लगानीलाई सहज बनाउन लगानी बोर्ड र उद्योग विभागलाई एकीकृत संरचनामा ल्याउने निर्णयले सेवा प्रवाह अझ सरल हुने अपेक्षा गरिएको छ।
चेम्बरको धारणा अनुसार, अधिकांश सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने र ४५ दिनभित्र ‘वान डोर बिजनेस प्लेटफर्म’ सञ्चालनमा ल्याउने सरकारको लक्ष्यलाई पनि सकारात्मक रूपमा लिइएको छ। यसले व्यवसाय दर्ता र अनुमति प्रक्रियामा सहजता ल्याउने विश्वास गरिएको छ।
ऊर्जा उत्पादन तथा निर्यात प्रवद्र्धनलाई प्राथमिकतामा राखिएकोमा पनि चेम्बरले सकारात्मक प्रतिक्रिया व्यक्त गरेको छ। ऊर्जा स्रोतलाई उत्पादनमूलक उद्योगका लागि सहुलियत दरमा उपलब्ध गराएमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।
अग्रवालले भने, “वि.स. २०८७ सम्म राष्ट्रिय आर्थिक रूपान्तरणको लक्ष्य हासिल गर्न आवश्यक कानुन संशोधन, परिमार्जन र अन्य आर्थिक सुधारका क्षेत्रगत सुझावहरू क्रमशः कार्यान्वयन हुँदै जानेमा हामी विश्वास गर्छौं।”
चेम्बरले बदलिँदो आर्थिक परिस्थितिमा निजी क्षेत्रलाई सुदृढ बनाउन आवश्यक रणनीति तर्जुमा गर्ने प्रक्रिया अघि बढाएकोमा सकारात्मक दृष्टिकोण व्यक्त गरेको छ। यसले निजी क्षेत्रको मनोबल बढाउने र आगामी दिनमा अर्थतन्त्रको शिथिलता अन्त्य गरी आर्थिक गतिविधि बिस्तारमा सहयोग पुर्याउने चेम्बरको विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ।





