काठमाडौं। सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमाथि निर्माणाधीन पुल डेढ दशक बित्दा पनि पूरा हुन सकेको छैन। हुलाकी राजमार्गअन्तर्गत पर्ने यो पुल लामो समयदेखि अलपत्र पर्दा स्थानीय बासिन्दाले निरन्तर समस्या भोग्दै आएका छन्।

२०६८ सालमा ठेक्का सम्झौता भई साढे तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो पुलको काम समयमै नसकिँदा पटक–पटक म्याद थप गरिएको थियो। तर, त्यसपछि पनि अपेक्षित प्रगति नदेखिएपछि ठेक्का व्यवस्थापनमा समेत परिवर्तन गरिएको थियो।

ADVERTISEMENT

निर्माण अन्तिम चरणमा पुगेको भनिएको बेला आएको सामान्य बाढीले पुलका केही भागमा क्षति पुर्‍याएको थियो। त्यसयता चार वर्षभन्दा बढी समय बितिसक्दा पनि पुल निर्माणले गति लिन सकेको छैन। पछिल्लो समय पुनः काम सुरु भएको दाबी गरिए पनि यसको टुंगो कहिले लाग्ने भन्ने अझै स्पष्ट छैन।

पुल निर्माणका लागि ठेकेदारले अधिकांश भुक्तानी लिइसकेको बताइन्छ। डिजाइनमै कमजोरी र निर्माण प्रक्रियामा अनियमितता भएको आरोपसमेत उठ्दै आएको छ। यसबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको जनाइएको छ।

ADVERTISEMENT

पुल नबन्दा स्थानीय बासिन्दाले वर्षौंदेखि सास्ती भोगिरहेका छन्। बर्खायाममा डुंगाको सहारामा नदी पार गर्नुपर्ने र सुख्खायाममा अस्थायी संरचनाबाट आवतजावत गर्नुपर्ने बाध्यता छ। अस्थायी डाइभर्सनसमेत बाढी आउँदा बग्ने जोखिममा रहने गरेको स्थानीय बताउँछन्।

सामान्य अवस्थामा छोटो दूरीमा पुग्न आधा घण्टा लाग्ने बाटो अहिले घुमाउरो बाटो प्रयोग गर्दा डेढ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ।

विभिन्न निकायबाट पटक–पटक अनुगमन, निरीक्षण र ‘छिट्टै निर्माण हुन्छ’ भन्ने आश्वासन दिइए पनि काममा सुधार नदेखिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।

चुनावका बेला भने यो पुल प्रमुख एजेन्डा बन्ने गरेको छ। हरेक निर्वाचनमा निर्माण पूरा गर्ने वाचा दोहोरिए पनि व्यवहारमा प्रगति नहुँदा स्थानीयको विश्वास घट्दै गएको छ।

स्थानीयले अब दिगो समाधान आवश्यक भएको बताएका छन्। पुरानो डिजाइन प्रभावकारी नभएको भन्दै नयाँ संरचना निर्माण गर्नुपर्ने मागसमेत उठिरहेको छ।