काठमाडौं।  राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक तथा बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव झलकराम अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अधिकारीसहित द कुटी रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक देवेन्द्र केसी र बाँकेका रविचन्द्र लामिछानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

ADVERTISEMENT

अख्तियारका अनुसार तत्कालीन महानिर्देशक अधिकारीले घुस लिई सम्पत्ति शुद्धीकरण गरेको उजुरीपछि अनुसन्धान गरिएको थियो। सोही प्रकरणमा अधिकारीविरुद्ध ७० लाख रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना, कैद सजाय र घुसबापतको रकम असुलउपरको मागदाबी गरिएको छ।

यस्तै घुसबाट आर्जित रकम शुद्धीकरण गरी जग्गा खरिद गरेको अभियोगमा अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को मुद्दा पनि विशेष अदालतमा दायर गरिएको छ। उक्त मुद्दामा बिगोबमोजिम जरिवाना, घुसबाट आर्जित सम्पत्ति जफतसहित थप सजायको मागदाबी गरिएको छ।

ADVERTISEMENT

त्यसैगरी देवेन्द्र केसीविरुद्ध २० लाख रुपैयाँ र रविचन्द्र लामिछानेविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।