काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ अन्तर्गत तारकेश्वर नगरपालिकाको तारकेश्वर मतदानस्थलको अनुगमन गरेका छन् । उनले प्रहरी प्रधानकार्यालय पुगेर निर्वाचन व्यवस्थापन सूचना केन्द्रको पनि निरीक्षण गरेका छन् ।

अनुगमनमा गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुख तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललगायत सुरक्षा अधिकारी सहभागी थिए ।

ADVERTISEMENT

मतदातासँग कुराकानी गर्दै गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् । उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै निकाय सतर्कतापूर्वक खटिएको बताएका छन् ।

उनले मतदान केन्द्रको सुरक्षा व्यवस्था, मतदाताको सहज आवागमन तथा आवश्यक व्यवस्थापनबारे स्थलगत जानकारी लिएका थिए ।

ADVERTISEMENT

प्रहरी प्रधानकार्यालयस्थित निर्वाचन व्यवस्थापन सूचना केन्द्रमा पालिकास्तरसम्म जनशक्ति परिचालन, मतदानस्थल र मतपेटिकाको अवस्था, निर्वाचनमा खटिएका सुरक्षाकर्मीको विवरण तथा मतगणनासम्बन्धी सूचना एकीकृत रूपमा प्राप्त गर्न सकिने व्यवस्था रहेको जानकारी गराइएको थियो ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले केन्द्रबाट देशभरका निर्वाचन गतिविधिको अनुगमन गर्न सकिने बताए । उनका अनुसार मतदानस्थलमा मतपेटिका पुगेनपुगेको, मतदान प्रक्रिया सुरु भएनभएको लगायतका सूचना सहजै प्राप्त गर्न सकिन्छ ।

केन्द्रमा ४१ वटा रियल टाइम भिडियो क्यामेरा जडान गरिएको छ । गृहमन्त्री अर्यालले सातै प्रदेशमा परिचालन भएका सुरक्षाकर्मी तथा निर्वाचन डेस्कको अवस्थाबारे पनि जानकारी लिएका थिए ।