काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज (बुधबार) राति १२ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। निर्वाचनको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन मतदान कार्य सम्पन्न नहुन्जेलसम्मका लागि सवारी आवागमनमा प्रतिबन्ध लगाइएको हो।
निर्वाचन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई सवारी सञ्चालनमा रोक लगाउन सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।
उनका अनुसार अत्यावश्यक सेवाका सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ। एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारी, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारीसाधनहरू निर्वाध रूपमा सञ्चालन हुनेछन्। साथै, कूटनीतिक नियोगका नीलो प्लेट भएका सवारीसाधन र आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पासप्राप्त सवारीसाधनलाई पनि अनुमति दिइएको छ।
सूचना अधिकारी घिमिरेले मतदान अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सवारी सञ्चालन गर्न नपाइने स्पष्ट पारे। उनले मतदाता तथा यात्रुहरूलाई सवारी बन्द हुनुअगावै आफ्नो गन्तव्यमा पुग्न आग्रह गरेका छन्।
आयोगले निर्वाचन अवधिमा सवारी प्रयोगका क्रममा कुनै अवरोध वा समस्या उत्पन्न भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरेको छ। आवश्यक परेमा सुरक्षा निकायले आयोगसँग समन्वय गरी सहजीकरण गर्ने व्यवस्था मिलाइने जनाएको छ।