काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भएसँगै कुनै पनि राजनीतिक दल, उम्मेदवार वा सम्बन्धित पक्षले कसैको पक्ष वा विपक्षमा प्रचार–प्रसार गर्न वा भोट माग्न पाउने छैनन् ।

मौन अवधि मतदान सम्पन्न नहुँदासम्म लागू रहनेछ । निर्वाचनका क्रममा प्रतिस्पर्धीबीच विवाद, झडप वा अप्रिय घटना नहोस् तथा मतदातालाई निर्भय वातावरणमा मतदान गर्ने अवसर मिलोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय अभ्यासअनुसार मौन अवधिको व्यवस्था गरिएको हो ।

निर्वाचनलाई शान्त, मर्यादित र स्वच्छ प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न गर्न मौन अवधि प्रभावकारी मानिन्छ । यस अवधिमा प्रचार–प्रसारका गतिविधि पूर्णतः रोकिँदा मतदाताले स्वतन्त्र रूपमा आफ्नो मताधिकार प्रयोग गर्न सक्ने अपेक्षा आयोगको छ ।

ADVERTISEMENT

निर्वाचन आचारसंहिताअनुसार दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने तथा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार–प्रसार गर्न नहुने स्पष्ट व्यवस्था छ । मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रको ३०० मिटर वरपर राखिएका प्रचार सामग्री हटाउन सम्बन्धित दल वा उम्मेदवारलाई निर्देशन दिनेछ ।

ADVERTISEMENT

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा निर्वाचन प्रचार–प्रसारसँग सम्बन्धित कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला वा गोष्ठी गर्न पाइने छैन । सामाजिक सञ्जालमार्फत् समेत कसैको पक्ष वा विपक्षमा सन्देश प्रवाह गर्न वा भोट माग्न निषेध गरिएको छ ।

त्यस्तै, राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट प्रचारात्मक सामग्री पोस्ट, शेयर वा प्रसारण गर्न नपाइने आयोगले जनाएको छ ।

मौन अवधि उल्लंघन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत आयोगले दिएको छ । निर्वाचनको पूर्वसन्ध्यामा दल तथा उम्मेदवारहरू अन्तिम चुनावी सभा र प्रचारमा व्यस्त रहे पनि मध्यरातिपछि सबै गतिविधि रोक्नुपर्नेछ ।