काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भारतस्थित मेदान्त द मेडिसिटी अस्पतालबीच सेवासुविधामा थप सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई अस्पतालको सेवाशुल्कमा १५ प्रतिशतसक्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ ।

यसअघि प्रदान गरिएको छुट सुविधा केवल मेदान्ता, गुडगावँमा मात्र लागू हुँदै आएकोमा नयाँ सम्झौतापछि मेदान्तको थप ६ अस्पतालहरू मेदान्ता नोएडा, मेदान्ता सुपर स्पेसलिटी अस्पताल, लखनउ, जयप्रभा मेदान्ता सुपर स्पेसलिटी अस्पताल, पटना, मेदान्ता सुपर स्पेसलिटी अस्पताल, इन्दौर, मेदान्ता अब्दुर रज्जाक अन्सारी मेमोरियल वीभर्स अस्पताल, राँची र मेदान्ता अस्पताल, राँचीमा तथा ५ मेडिक्लिनिकबाट समेत उपलब्ध हुने भएको छ ।

समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् । हाल यस बैंकका ग्राहकहरुले भारतमा स्वास्थ्य उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइरहेका छन् र आगामी दिनमा पनि आफ्ना ग्राहकहरुलाई थप लाभान्वित गर्न बैंकले सहकार्यलाई पुनः निरन्तरता दिन सफल भएको जनाएको छ । यस सहकार्यको निरन्तरताले सिटिजन्स बैंक र मेदान्त द मेडिसिटी हस्पिटलबीचको सम्बन्ध अझ सशक्त भएको तथा भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिनेसमेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १९ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।