चन्द्रपुर, १३ फागुन । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार क्षेत्र नं १ अन्तर्गत जिल्ला अदालत गौर परिसर, गौर कारागार परिसर तथा क्षेत्र नं ४ अन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर परिसरमा अस्थायी मतदान केन्द्र तोकिएको हो।
ती केन्द्रमा जगेडामा रहने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी र कारागारमा रहेका कैदीबन्दीले मतदान गर्न पाउने व्यवस्था गरिएको छ। प्रत्येक अस्थायी मतदान केन्द्रमा दुई–दुई जना कर्मचारी खटाइएको छ।
गौर कारागारका प्रमुख प्रदीप पौडेलका अनुसार कारागारमा रहेका ६३ जना कैदीबन्दी मतदाता नामावलीमा सूचीकृत छन्। उनीहरूलाई कारागार परिसरमै मतदान गर्ने व्यवस्था मिलाइएको छ।
जिल्लाका चार निर्वाचन क्षेत्रमा २७७ मतदानस्थल र ५४१ मतदान केन्द्र रहेका छन्। अठार पालिका रहेको रौतहटमा यस वर्ष चार लाख ३६ हजार ६११ मतदाता रहेका छन्।
दुई मतदान केन्द्रमा महिला कर्मचारीको नेतृत्व
गौर नगरपालिका–५ स्थित आधारभूत विद्यालय बालमन्दिर भवनमा रहेका दुई मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ।
‘क’ मतदान केन्द्रमा मतदान अधिकृत आस्था शर्मा पौडेल, सहायक मतदान अधिकृत सुचिता श्रीवास्तव, सहायक कर्मचारी प्रियङ्का कुमारी यादव, सविता कुशवाह, रुबि झा र कार्यालय सहयोगी रञ्जना रिजाल खटिएका छन्।
‘ख’ मतदान केन्द्रमा मतदान अधिकृत सब्रिना खातुन, सहायक मतदान अधिकृत कल्याणी मिश्र, सहायक कर्मचारी अर्चनाकुमारी साह, हिमकला पोखरेल, मनिषा चौधरी र कार्यालय सहयोगी गुडियादेवी राम खटिएका छन्।
जिल्ला मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं १ का निर्वाचन अधिकृत मनोज केसीका अनुसार क्षेत्र नं १ मा १३२ मतदान केन्द्र रहेका छन्। सो क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई फागुन ९ गते नै निर्वाचनसम्बन्धी तालिम दिइसकिएको छ। जिल्लाभरका ५४१ मतदान केन्द्रमा एक हजार ४६ जना कर्मचारी खटिसकेका छन्।
आचारसंहिता उल्लङ्घन नगर्न प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय रौतहटले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवद्वारा जारी सूचनामा राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, मतदाता तथा सर्वसाधारणलाई आपसी सद्भाव, शान्ति र सौहार्द कायम गर्न आग्रह गरिएको छ।
फागु पर्वलाई मर्यादित, सभ्य र अनुशासित ढङ्गले मनाउन तथा निर्वाचन सुरक्षामा सहयोग पुर्याउन सबै सरोकारवालालाई अपिल गरिएको छ।
भीडभाड हुने कार्यक्रम आयोजना गर्नुअघि जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य अनुमति लिनुपर्ने जनाइएको छ। अनुमतिविनाका कार्यक्रम, मेला र जात्रा सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ।
त्यसैगरी, कसैको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने वा फोहर छ्याप्ने जस्ता गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ। निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी, कर्मचारी तथा सर्वसाधारणलाई दुःख दिने कुनै पनि कार्य नगर्न चेतावनी दिइएको छ।
मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियम पालना गर्न, सार्वजनिक स्थानमा होहल्ला नगर्न र ध्वनि प्रदूषण नगर्न पनि प्रशासनले अनुरोध गरेको छ। कानुनविपरीत गतिविधि भएमा प्रचलित कानुनअनुसार कारबाही हुने जनाइएको छ।








