चितवन । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज समेटिएको निकुञ्ज कम्प्लेक्समा बाघ गणनाका क्रममा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गणनाका लागि प्रयोग गरिएका ८५ क्यामेरामध्ये ६० वटा हराएका छन् भने २५ वटा बिग्रिएको अवस्थामा फेला परेका छन्।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि कुल १ हजार ७८० वटा क्यामेरा जडान गरिएको थियो। गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको हो।
थापा मगरका अनुसार दुईवटा राष्ट्रिय निकुञ्जलाई एउटै कम्प्लेक्सका रूपमा राखी उक्त कम्प्लेक्सलाई तीन ब्लकमा विभाजन गरेर गणना गरिएको थियो। सम्पूर्ण क्षेत्रमा ९५८ वटा ग्रिड बनाएर बाघको अवस्थाबारे अध्ययन गरिएको जनाइएको छ। प्रत्येक दुई वर्ग किलोमिटर क्षेत्रफललाई एक ग्रिड मानेर क्यामेरा जडान गरिएको थियो।
एउटा ब्लकमा १७ रातसम्म क्यामेरा राखेर तथ्यांक संकलन गरिएको थियो। प्रयोग गरिएका क्यामेरामध्ये ८५ वटा समस्याग्रस्त देखिएपछि त्यसको विवरण संकलन गर्ने काम भइरहेको निकुञ्जले जनाएको छ।
यसअघि सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा ३५५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। सो गणनामा चितवनमा १२८, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, बाँके राष्ट्रिय निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा बाघ भेटिएका थिए। नयाँ गणनाको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।







