काठमाडौँ। सर्लाहीको मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहार गरी हत्या गरिएको घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन गरिएको छ। आइतबार माइतीघर मण्डलामा विभिन्न संघसंस्था तथा स्थानीयवासीहरूले भेला भएर दोषीलाई अविलम्ब पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका हुन्।

सिरहाको सुखीपुर नगरपालिका–६ बैशाखा स्थायी घर भएका यादवलाई फागुन ३ गते साँझ करिब ८ बजे मलंगवा नगरपालिका–१० देवीटोलस्थित डेराबाट बाहिर बोलाएर अज्ञात समूहले गोली प्रहार गरेको थियो। गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।
प्रदर्शनमा सहभागीहरूले “हत्यारालाई कारबाही गर”, “निर्दोष कर्मचारीको सुरक्षा सुनिश्चित गर” लगायतका नारा लगाएका थिए। उनीहरूले सरकारी कर्मचारीमाथि भइरहेको आक्रमणप्रति सरकार गम्भीर बन्नुपर्ने र शान्ति सुरक्षाको अवस्था मजबुत बनाउनुपर्ने माग राखेका छन्।
प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाइ नगर्न सरकारसँग आग्रह गरेका छन्। उनीहरूले यस्ता घटनाले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल कमजोर बनाउने भन्दै सुरक्षाको प्रत्याभूति दिन माग गरेका छन्।
प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। हत्या प्रकरणमा संलग्नको पहिचान तथा पक्राउका लागि खोजी कार्य तीव्र पारिएको बताइएको छ।






