पोखरा। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको प्राविधिक क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले “Transitioning to the Age of Artificial Intelligence” भन्ने नाराका साथ तीनदिने Employee Skill Enhancement Program पोखरास्थित होटल ग्राण्ड पोखरामा सम्पन्न गरेको छ।

कार्यक्रममा कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा देशभरका शाखा र केन्द्रीय कार्यालयका प्रशासनिक कर्मचारी गरी कुल २७० जनाको सहभागिता रहेको थियो।

ADVERTISEMENT

कार्यक्रमको उद्घाटन कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले दीप प्रज्वलन गरी गरेकी थिइन्। उद्घाटन सत्रमा बीमा व्यवसाय प्रविधिमैत्री बन्दै गएको सन्दर्भमा आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी तालिमले कम्पनीको व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरिएको थियो। सो अवसरमा कार्यसम्पादन मूल्याङ्कनका आधारमा Best Employee Award–2082 अन्तर्गत उत्कृष्ट ठहरिएका सात जना कर्मचारीलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले स्वागत मन्तव्यका क्रममा दक्ष र प्रविधिमा सक्षम जनशक्तिबाट गुणस्तरीय सेवा प्रवाह सम्भव हुने उल्लेख गरे। उनले डाटा विश्लेषण, ग्राहक सेवा प्रणाली र आर्टिफिसियल इन्टेलिजेन्सका उपकरणको प्रयोगमार्फत सेवा छिटो, सरल र प्रभावकारी बनाउन तालिम आयोजना गरिएको बताए। साथै बीमा व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम पनि समावेश गरिएको जानकारी दिए।

ADVERTISEMENT

कार्यक्रममा ब्रोडवे इन्फोसिसका सन्देश भट्टराईले आर्टिफिसियल इन्टेलिजेन्सका प्रयोग, सम्भावना र व्यवहारिक उदाहरणसहित विस्तृत प्रशिक्षण प्रदान गरे। त्यस्तै, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले बीमा क्षेत्रमार्फत हुन सक्ने सम्पत्ति शुद्धीकरण र अवैध वित्तीय गतिविधि नियन्त्रणबारे सचेतना प्रशिक्षण दिएका थिए।

कर्मचारीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य अभिवृद्धि गर्ने उद्देश्यले आर्ट अफ लिभिङका डा. डोन्जन लामिछानेबाट योग प्रशिक्षण पनि प्रदान गरिएको थियो।

तालिमअन्तर्गत सञ्चालन गरिएको मूल्याङ्कन परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने प्रथम, द्वितीय र तृतीय हुने कर्मचारीलाई नगद प्रोत्साहनसहित सम्मान गरिएको थियो। साथै प्रदेशस्तरीय फुटसल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीका खेलाडीहरूलाई पनि पुरस्कृत गरिएको थियो।

कार्यक्रमको समापन सत्रमा उप–कार्यकारी प्रमुख स्मृति राज कँडेलले धन्यवाद ज्ञापन गर्दै कम्पनीले आगामी दिनमा पनि यस्ता तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।