काठमाडौं। छिमेकी देशमा देखिएको निपाह भाइरसको सङ्क्रमण नेपालमा न्यून रहेको भए पनि स्वास्थ्य मन्त्रालयले सबैलाई सतर्क रहन आग्रह गरेको छ।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायहरूलाई सचेत रहन निर्देशन दिएको छ। निपाह भाइरसको परीक्षणका लागि अन्तरिम एल्गोरिदम पनि तयार गरिएको जानकारी दिइएको छ।

विश्व स्वास्थ्य संगठनले दक्षिण–पूर्वी एसिया क्षेत्रमा निपाह भाइरसको जोखिम कम भएको बताएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, “आत्तिनुपर्ने अवस्था छैन, तर सावधान रहनुपर्छ। फलफूल राम्ररी धुने, तरकारी राम्ररी पकाउने, पानी उमालेर पिउने, जनावरका गोठ सफा राख्ने, मासु काट्दा पन्जा र मास्क लगाउने, हात धुने र भीडभाडमा मास्क लगाउने जस्ता मापदण्ड पालना गर्न जरुरी छ।”

ADVERTISEMENT

उहाँले कुनै शङ्कास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्न सुझाउनुभयो। निपाह भाइरस सङ्क्रमित चमेराको ¥याल, पिसाब वा मलमूत्रले दूषित भएको फलफूल खाने, सङ्क्रमित व्यक्तिको रगत, थुक वा नजिकको सम्पर्कबाट पनि मानिसमा सर्न सक्ने बताइएको छ।

ADVERTISEMENT

संक्रमणका सम्भावित लक्षणमा ज्वरो, टाउको दुखाइ, मांसपेशी दुख्ने, खोकी, सास फेर्न गाह्रो, चक्कर लाग्ने, बान्ता वा गम्भीर अवस्थामा होस हराउनु पर्ने स्थिति पर्छ। स्वास्थ्य मन्त्रालयले शीघ्र पहिचान, आइसोलेसन, रिपोर्टिङ र सङ्क्रमण रोकथामका मापदण्ड कडाइका साथ पालना गर्न सबैसँग अनुरोध गरेको छ।

ADVERTISEMENT