रसुवा। फागुन ३ गते देशभर मनाइने महाशिवरात्रि पर्व नजिकिँदै जाँदा भक्तजनहरू तयारीमा जुट्न थालेका छन्। शिवरात्रिको अवसरमा विशेषगरी रसुवा जिल्लामा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दै गएको छ।

समुद्री सतहदेखि करिब चार हजार ३८० मिटर उचाइमा अवस्थित गोसाइँकुण्ड धार्मिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिले अनुपम तीर्थस्थलका रूपमा परिचित छ। धार्मिक मान्यताअनुसार गोसाइँकुण्ड भगवान् शिव विराजमान रहेको पवित्र कुण्ड मानिन्छ। शिवरात्रिका दिन यहाँ स्नान, पूजा र आराधना गरेमा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ।

पौराणिक कथाअनुसार समुद्र मन्थनका क्रममा उत्पन्न भएको हलाहल विष भगवान् शिवले ग्रहण गरी सम्पूर्ण प्राणी जगतको रक्षा गरेका थिए। यही कारण शिवलाई ‘नीलकण्ठ’ भनिएको मान्यता छ। जीवनमा सके तीन पटक र नसके कम्तीमा एक पटक भए पनि गोसाइँकुण्डको दर्शन गर्नुपर्ने उल्लेख हिमवत्खण्डमा गरिएको छ।

ADVERTISEMENT

काठमाडौँबाट रसुवाको धुञ्चेसम्म सवारीसाधनमार्फत यात्रा गरी धुञ्चेबाट तिवारीबगर, खन्ति, डिम्सा, चन्दनबारी, चोलाङपाटी र लौरीविनायक हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ। धुञ्चेबाट उकालो यात्रा सुरु भएपछि लौरीविनायकभन्दा माथि लेक लाग्ने भएकाले चन्दनबारीमा एक रात विश्राम गरी कुण्डतर्फ लाग्दा यात्रा सहज हुने होटल व्यवसायी सुब्बा लामाले बताए।

ADVERTISEMENT

गोसाइँकुण्डमा विशेषगरी जनैपूर्णिमा र गंगा दशहराका अवसरमा ठूलो मेला लाग्ने गर्छ। ती अवसरमा हजारौँ भक्तजन कुण्डमा स्नान गर्न पुग्ने गर्छन्। मेलाका समयमा धार्मिक यात्रुको सुरक्षाका लागि विशेष सुरक्षा फोर्स परिचालन गरिने रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए।

ADVERTISEMENT

२०७२ सालको भूकम्पपछि युवा पुस्ता बाह्रै महिना गोसाइँकुण्ड पुग्न थालेका छन्, जसले धार्मिक पर्यटनलाई निरन्तरता दिएको छ। शिवरात्रिका अवसरमा नीलाद्री पर्वत पुगेर भगवान् शिवको दर्शन गर्नुपर्ने रसुवाका पुरोहित टङ्कप्रसाद ढकालले सुझाव दिए।

गोसाइँकुण्ड यात्रालाई सहज बनाउन नमस्ते पासाङ ल्हामु यातायात प्रालिले आवश्यक सवारीसाधनको व्यवस्था गर्दै आएको छ। साना सवारीसाधन शिवपुरी, ढिकुरे र विदुर हुँदै धुञ्चे पुग्ने गरेका छन् भने ठूला सवारीसाधन माछापोखरी–नागढुङ्गा–गल्छी–त्रिशूली मार्ग हुँदै धुञ्चे पुग्ने गर्छन्। लौरीविनायकको उकालो यात्राका लागि हेलिकप्टर सेवा पनि उपलब्ध रहेको सेवा सञ्चालकहरूले बताएका छन्।

हाल गोसाइँकुण्ड क्षेत्रमा पानी जमेर बरफ बनेको अवस्था रहेकाले भक्तजनलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। बरफमाथि हिँड्दा फुटेर कुण्डभित्र खस्ने जोखिम रहने बताइएको छ। गोसाइँकुण्ड क्षेत्र रामसार सूचीमा सूचीकृत भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए।

चिसो मौसमका कारण तातो लुगा, कागती, अदुवा, सातु, सामल र आवश्यक औषधि साथमा लैजान उपयुक्त हुने सुझाव दिइएको छ। गोसाइँथान जाने भक्तजनको सुविधाका लागि बागमती प्रदेशको भौतिक तथा पूर्वाधार मन्त्रालयले दीर्घकालीन गुरुयोजना अन्तर्गत पूर्वाधार विकासको काम अघि बढाएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।

कुण्डमा स्नान गर्दा भिजेको लुगा तथा फोहर जथाभावी नफ्याँक्न, पैदल मार्गमा देखिने रेडपाण्डालगायत वन्यजन्तुलाई क्षति नपुर्‍याउन र वनजंगलका वनस्पति नकाट्न वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहले अनुरोध गरे।

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचान बोकेको गोसाइँकुण्डको संरक्षण गर्दै श्रद्धापूर्वक दर्शन गर्नु नै साँचो शिवभक्ति हुने जानकारहरूको भनाइ छ।