काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवानिकट समूह निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै पुनः निर्वाचन आयोग पुगेको छ ।
देउवा पक्षका तर्फबाट पूर्वमहान्याधिवक्ता खम्मबहादुर खातीको नेतृत्वमा आइतबार गएको प्रतिनिधिमण्डलले तय गरिएको निर्वाचन कार्यक्रम तत्काल रोक्नुपर्ने माग आयोगसमक्ष राखेको हो। देउवा समूहका एक नेताका अनुसार वर्तमान परिस्थितिमा तोकिएको कार्यतालिका व्यावहारिक नभएकाले स्थगन गरिनुपर्ने माग गरिएको हो ।
निर्वाचन आयोगले माघ ६ गते प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ताको मिति तोकेको छ। तर, उक्त मितिप्रति असहमति जनाउँदै देउवा पक्षले आयोगसँग पुनर्विचारको आग्रह गरेको छ।
देउवा समूहले आइतबार सर्वोच्च अदालतमा निर्वाचन आयोगले शुक्रबार गरेको गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकताको निर्णय खारेजको माग गर्दै रिट निवेदन दिएको छ ।
सर्वोच्चले रिट निवेदनको पेसी मंगलबार तोकेको छ । देउवा निकट नेताहरूले चारतारे झण्डा र रुख आफूसँग नभएकाले चुनावमा जान नसकिने बताएका छन् । जसले एक साता निर्वाचन कार्यतालिका सर्ने अनुमान गरिएको छ । सोही कारण आइतबार राजीनामा दिन ठिक्क परेका काठमाडौंका मेयर बालेन्द्र साह बालेनले तत्काललाई ‘होल्ड’ गरेका छन् ।






