काठमाडौं।कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीहरूलाई अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ। बैंकले अर्थशास्त्र र व्यवस्थापन विषयमा एमफिल गरिरहेका तथा व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स र सूचना प्रविधि विषयमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरूलाई शोध कार्यका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

बैंकिङ र अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विषयमा गरिने अनुसन्धानका लागि एमफिल तहका दुई जना शोधकर्ता विद्यार्थीलाई जनही एक लाख रुपैयाँका दरले अनुदान प्रदान गरिनेछ। त्यस्तै, व्यवस्थापन, अर्थशास्त्र तथा कम्प्युटर साइन्स र सूचना प्रविधि विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका चार जना शोधकर्ता विद्यार्थीलाई जनही ५० हजार रुपैयाँका दरले अनुसन्धान अनुदान प्रदान गरिने बैंकले जनाएको छ।

अनुदान प्राप्त गर्न इच्छुक विद्यार्थीहरूले सम्बन्धित कलेजको सिफारिससहित सन् २०२६ मार्च १४ भित्र बैंकसमक्ष आफ्नो शोध प्रस्ताव पेश गर्नुपर्नेछ। सम्बन्धित विषयका विज्ञहरू सम्मिलित छनोट समितिले प्रस्तावको मूल्यांकन गरी अनुदान प्राप्त गर्ने विद्यार्थीहरूको छनोट गर्नेछ।बैंकका अनुसार शोध कार्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणले महत्त्वपूर्ण, तथ्यमा आधारित, प्रमाणित गर्न सकिने र मौलिक हुनुपर्नेछ। बैंकले उपलब्ध गराउने यस अनुसन्धान अनुदानले एमफिल र स्नातकोत्तर तहका शोधकर्ता विद्यार्थीहरूलाई उल्लेखनीय सहयोग पुग्ने विश्वास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले व्यक्त गरेका छन्।

ADVERTISEMENT

नेपाल राष्ट्र बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वविद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई शोध तथा अनुसन्धान कार्यका लागि अनुदान दिन सक्ने व्यवस्था गरेपछि कामना सेवा विकास बैंकले यो कार्यक्रम सुरु गरेको हो। नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार यस्तो अनुसन्धान अनुदान उपलब्ध गराउने कामना सेवा विकास बैंक पहिलो वित्तीय संस्था भएको बैंकले दाबी गरेको छ।

ADVERTISEMENT

अनुसन्धान अनुदानसम्बन्धी थप विवरण बैंकको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाइएको छ।

ADVERTISEMENT