काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको स्थान हद फुकुवा भएको छ । उच्चस्तरीय जाँचबुझ आयोगले ओलीमाथि लगाइएको स्थान हद फुकुवा भएको जनाएको हो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका ओलीमाथि गत असोज १२ गतेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो । आयोगका प्रवक्ता विज्ञानराज शर्माले सोमबार बसेको आयोगको बैठकले ओलीको स्थान हद फुकुवा भएको जानकारी दिए ।

जेनजी आन्दोलनको सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको सम्बन्धमा सोधपुछको काम सकिएकाले उनको विदेश भ्रमण रोक्का र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य सम्पन्न भइसकेकोले फुकुवा गरिदिएको शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार ओलीले राष्ट्रिय मानव अधिकार आयोग र जाँचबुझ आयोगसमक्ष बयान दिएका थिए । आफ्नो निवास भक्तपुरको गुण्डु आएका आयोगका सदस्यलाई उनले लिखित स्टेटमेन्ट नै बुझाएका थिए ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन सरकारमा रहेका केही मन्त्री, सुरक्षा निकायका प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रमुखसहितसँग बयान लिइसकेको छ । स्थान हद फुकुवा भएसँगै ओली अब चुनावी दौडमा सहभागी हुन उपत्यका बाहिर जाने भएका छन् ।

सरकारले चुनावी तयारीका लागि भन्दै ओलीलाई लिखित स्टेन्टमेन्ट दिन भनेको थियो । सोहीअनुसार जेनजी आयोगले आफ्नो कर्मकाण्ड पूरा गरेको छ ।